काठमाडौं । आफन्तको आशौचका कारण २३ असारको जन्मोत्सव नमनाउने निर्णयमा पुगेका राजा ज्ञानेन्द्र सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुग्नु भएको छ ।
उहाँ जन्मदिनको अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुग्नु भएको थियो । उहाँसँग श्री ५ लाग्ने सबैको हात्तिवन रिसोर्टमा जमघट छ । विगत वर्षमा राजावादी समूहले उहाँको जन्मदिनमा राम्रै साथ दिएको भएतापनि यस पटक ७३ औं जन्मदिन मनाउने जाँगर भने उहाँमा देखिएन ।
राजा ज्ञानेन्द्रले, रानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुग्नु भएको हो ।
सोमबार बिहान छोरा पारस, वालसखा प्रभुशम्सेर जवरा, पूर्व सैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुग्नु भएको थियो ।
आज रात्रीभोज मनाउन छोरी, ज्वाइ, धीरेन्द्र–पुत्री र जवाईहरु, बहिनीलगायत श्री ५ लाग्ने सबैको जमघट भएको छ ।
बन्दोबस्तीका लागि निजी सचिव सागर तिमल्सिनाबाहेक अन्य कर्मचारीको उपस्थिति देखिएको छैन । कुनै पनि कर्मचारीले राजा ज्ञानेन्द्रलाई शुभकामना दिन पाएका छैनन् ।