काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरुको परराष्ट्र नीति एउटै हुनुपर्नेमा जोड दिएका छन्।
परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको ‘परराष्ट्र निति राष्ट्रिय संम्वाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा जोड दिएका हुन्। ओलीले भने, ‘परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ। एउटै भाषा बोल्नुपर्छ। सरकारले एकलौटी काम गर्दैन।’
नेपालको पराराष्ट्र नीतिबारे सबैले चासोपूर्वक हेरिरहेको बताउँदै ओलीले छिमेकीसहित सबै राष्ट्रलाई हेर्ने नीति एउटै हुनुपर्ने धारणा राखेका छन्। प्रधानमन्त्री ओलीले भारतसँग बेला-बेलामा भइरहने खटपट अन्त्यको प्रयास भइरहेको पनि सो अवसरमा जानकारी दिएका छन्। नेपालले कसैबाट हेपिएको महसुस गर्नु नपरोस् भन्दै उनले नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए।
नागपोखरीस्थित होटल म्यारिडमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको सभापतित्वमा आयोजित कार्यक्रममा ‘परिवर्तित भूराजनीति -छिमेक तथा प्रमुख शक्ति राष्ट्रहरु’ बारे सांसद भिमबहादुर रावल, सांसद डा. नारायण खड्का, सांसद राजकिशोर यादव, प्रधुम्न शाह, डा. महेश मास्केले धारणा राख्नेछन् भने सहजकर्ता अर्थमन्त्री डा. युवराज खतिवडा रहेको ‘आर्थिक कुटनीति अभिमुखिकरण एवम् प्राथमिकताहरु’ शिर्षकमा डा. प्रकाशचन्द्र लोहनी, डा. स्वर्णिम वाग्ले, डा. गोविन्द नेपाल, भवानी राणाले धारणा राख्नेछन्।
त्यसैगरी स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहजकर्ता रहेको ‘क्षेत्रीय तथा बहुपक्षीय मामिला’ बारे सांसद पवित्रा निरौला खरेल, ज्ञानचन्द्र आचार्य, प्रा.डा. खड्ग केसी, बालानन्द शर्मा र कनकमणि दिक्षितले धारणा राख्ने कार्यक्रम रहेको छ।
सांसद नारायणकाजी श्रेष्ठ सहजकर्ता रहेको ‘नविनतम चुनौतीहरु -जलवायु परिवर्तन तथा श्रम आप्रबास’ शिर्षकमा सांसद बिन्दा पाण्डे, सांसद डा. डिला संग्रौला, डा. गणेश गुरुङ, प्रा.डा. पिताम्बर शर्मा, वटुकृष्ण उप्रेतीले आ-आफ्ना राय राख्नेछन्।
पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महत र राप्रपा अध्यक्ष कमल थापाले आफ्ना टिप्पणी मन्तव्य राखेसँगै कार्यक्रमको समापन हुने आयोजकले बताएको छ।