लेखराम सापकोटा
भरतपुर । देवघाटधामस्थित परमानन्द संस्कृत गुरुकुल विद्यापीठबाट २०७५ सालमा एसईई परीक्षा दिएका सबै ‘ए प्लस’ ग्रेड मा उत्तीर्ण भएका छन् ।
बिहीबार सार्वजनिक भएको एसईई परीक्षाफलमा गुरुकुलबाट सहभागी भएका सबै १४ जनाले ए प्लस ल्याएको विद्यालयले जनाएको छ ।
गुरुकुलमा २०६३ सालबाट एसएलसी सुरु भएको हो । गुरुकुलका प्रधानाध्यापक सुभाव चैतन्यले गुरुकुलको शैक्षिक इतिहासमा अहिलेसम्मकै उत्कृष्ट नतिजा आएको बताए । जनयुद्धकालमा तत्कालीन विद्रोही माओवादीले संस्कृत विषयको पठनपाठनलाई बन्द गराएपनि पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संस्कृत शिक्षाको महत्व बढ्दै गइरहेको छ ।
गुरुकुलबाट गतवर्ष पनि एसईईमा सहभागीहरु ‘ए’ र ‘ए प्लस’ ग्रेड नतिजा ल्याएर उत्तीर्ण भएका थिए । यसपटक भने सबैले ‘ए प्लस’ ल्याएर गुरुकुलको गरिमा बढाएको प्रधानाध्यापक चैतन्यले बताए । गुरुकुलमा तनहुँ, चितवन, नवलपरासीसहित देशका विभिन्न जिल्लाहरुबाट आएका छात्रहरुले अध्ययन गर्दछन् ।
यहाँ कक्षा ६ देखि शास्त्री (स्नातक)तहसम्म पढाइ हुने गरेको छ । सरकारी तथा निजी विद्यालयबाट ५ कक्षा पास गरेका १० देखि १२ वर्ष उमेर समूहका जुनसुकै विद्यार्थी पनि गुरुकुलमा आएर भर्ना हुन् पाउने व्यवस्था छ । गुरुकुलमा २०० भन्दा बढी विद्यार्थीहरुले निःशुल्क आवासीय सुविधा पनि लिइरहेका छन् ।
गुरुकुलबाट एसईई परीक्षामा सहभागीले नेपाली, गणित, सामाजिक, अनिवार्य व्याकरण, ऐच्छिक व्याकरण, वेद, कर्मकाण्ड, अंग्रेजी र संस्कृत साहित्य विषयको परीक्षा दिएको गुरुकुलका अध्यापक रत्न कँडेलले जानकारी दिए ।