धनकुटा । सामाजिक सञ्जालमा ट्राेल बनाएर भाइरल भइरहेका धनकुटाकाे महालक्ष्मी नगरपालिकाका मेयर (नगरप्रमुख) पर्शुराम नेपालले आफूबाट गल्ती भएछ भन्दै आत्मालाेचना गरेका छन् ।
आफ्नाे फेसबुकमा उनले त्यसरी सलामी ग्रहण गर्नुकाे कारणसहित प्रष्टीकरण दिँदै नजानेरै गल्ती गरेको स्वीकारेका छन् । यस घटनाबाट आफूले पाठ सिकेको बताउँदै उनले आफ्नाे साे कार्यलाई सामन्तवादका रुपमा नबुझ्न समेत आग्रह गरेका छन् ।
‘गल्ती भएछ भन्ने अवश्य लागेको छ । सबै सकारात्मक र नकारात्मक सुझावलाइ मैले आगामी यात्राका क्रममा ध्यान दिनुपर्ने पाठको रुपमा लिएको छु । यसबाट महालक्ष्मी नगरपालिकाका जनतालाइ आफ्नो मेयरले सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापी नबुझ्न आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘यो घटनाबाट मलाइ हामी जनप्रतिनिधिलाई सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएका छौँ । यहाँका जनताले हामी जनप्रतिनिधिलाई छिमेकी दाजु, भाइ, छोरा, छोरीको रुपमा हेर्नुहुन्छ । उहाँहरुका हरेक सुख दु:ख उकाली ओरालीहरुमा हामी सँगै हुन्छौँ ।’
हेर्नुस् पत्र जस्ताकाे तस्तै-
आदरणीय आमाबुबा दाजुभाइ दिदी बहिनीहरु
नेपालको संविधान जारी भइसकेपछि पहिलो पटक हामीले नयाँ ब्यवस्थाको थालनी गर्यौँ । तीन तहको सरकार हाम्रो नयाँ र नौलो अनुभव हो । जनताको घर दैलोमा पहिले देखि नै पुगिरहेका र उहाँहरुको सुखदुखमा सँधै साथ दिइरहेका हामीलाइ जनताले आफ्नो ठाउँको परिवर्तनका निम्ति आफ्नो अमूल्य मत दिएर जिताउनु भयो । जनप्रतिनिधीकोरुपमा स्थानीय सरकारको नेतृत्व गर्न पाउनु हाम्रो लागि चुनौती र अवसर दुवै हो । सँविधान र कानुनले प्रत्याभूत गरेका अधिकार र जिमेवारीलाइ पालना गर्नु स्थानीय जनप्रतिनिधीको कर्तव्य सम्झिएर म र मेरो टिमका साथीहरुले काम गरिरहेका छौँ । काम गर्ने क्रममा कहिले काँही गल्ति र कमजोरी भएमा स्थानीय जनताको चाहना बमोजिम हामी तुरुन्तै सुधार पनि गरिरहेका हुन्छौँ । आज म एउटा अन्जान गल्तिलाइ स्पष्टीकरण दिन यो प्रविधीको साहरा लिइरहेको छु ।
राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता खेलको उद्घाटन समारोहको अवसरमा म र मेरो टिमको फोटोको सम्बन्धमा आएका प्रतिक्रियालाइ मैले थप जिम्मेवारी र महत्वपूर्ण सिकाइकोरुपमा लिएको छु । हाम्रा लागि यो खेलको उद्घाटन पनि नौलो अभ्यास हो । उद्घाटन समारोहका क्रममा खेलाडिलाइ सलामी दिने चलन रहेको र मेयर अलि अग्लो स्थानमा बस्नुपर्छ भनी हतार हतार म उभिएको ठाउँमा अग्लो आसनी ल्याइयो । खेलाडिलाइ सलामी दिने कुरालाइ मैले सहजरुपमा लिएर भुइँबाटै हुने कुरा बताएपनि जनप्रतिनिधी मित्रहरु, नजिकै रहनुभएका स्थानीय जनता, स्वयम सेवक, कर्मचारी साथीहरु लगायतले यो चलन रहेको, यसले खेलाडीलाइ थप हौसला दिने र यसलाइ पालना गर्नुपर्ने कुरा बताएपछि मैले सो स्थानबाट खेलाडिलाइ सलामी दिएको हुँ ।
यो घटनाबाट मलाइ हामी जनप्रतिनिधीलाइ सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएका छौँ । यहाँका जनताले हामी जनप्रतिनिधीलाइ छिमेकी दाजु, भाइ, छोरा, छोरीको रुपमा हेर्नुहुन्छ । उहाँहरुका हरेक सुख दुख उकाली ओरालीहरुमा हामी सँगै हुन्छौँ । हरेक मानिसका कतिपय स्बभाव हुँदा रहेछन् । कुनै कुनै परिस्थितिमा आफूलाइ कुनै काम गर्न मन नलागे पनि स्थानीय जनताको भावनामा चोट पर्दैन र गम्भीर असर पर्दैन भने म उहाँहरुको कुरालाइ शिरोपर गर्छु । यो स्पष्टीकरण लेख्दै गर्दा म उद्घाटन समारोहको क्रममा स्थानीयले गर्नुभएको आग्रह र मेरा गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु । गल्ती भएछ भन्ने अवश्य लागेको छ ।
सबै सकारात्मक र नकारात्मक सुझावलाइ मैले आगामी यात्राका क्रममा ध्यान दिनुपर्ने पाठको रुपमा लिएको छु । यसबाट महालक्ष्मी नगरपालिकाका जनतालाइ आफ्नो मेयरले सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापी नबुझ्न आग्रह गर्दछु । सबै खेलको नियम मलाइ थाहा छैन । चलन पनि मेरो लागि नौलो हो । एउटा ब्यक्तिले सबै विषयमा जानकारी राख्न पनि नसकिँदो रहेछ । म जन्मेको घर यहीँ छ , म हिँडेको बाटो, मैले पढेको विद्यालय, मैले गाइबस्तू चराएको चौर, पटक पटक चिप्लिँदै लड्दै, फेरि उठ्दै गरेको रातोमाटो यहीँ छ । गोरु जोत्दा बसेको ठेलाको दाग, भारी बोक्दा पिल्सिएको ढाड बेला बेला बल्झिरहन्छ । म कसरी सामन्तवादी सँस्कार अँगाल्न सक्छु र । सामाजिक सञ्जाल प्रयोगकर्ता मेरो नगरपालिका भित्र तथा बाहिरका आदरणीय महानुभावहरुलाइ यदि प्रक्रिया पद्वति भन्दा बाहिर रहेछ भने मेरो एउटा भुललाइ मैले सोच्न पनि नसक्ने सँस्कारसँग तुलना नगरीदिनुहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।
अन्त्यमा महालक्ष्मी नगरपालिकाभित्र धेरै राम्रा कामहरु पनि भएका छन् । स्थानीय जनताका चाहना अनुसारका कामलाइ हामीले प्राथमिकता दिएका छौँ । हामीले गरेका राम्रा कामको बारेमा पनि केहि लेखिदिनुभएमा थप हौसला अवश्य मिल्ने थियो ।
हाम्रा कामको निरन्तर खबरदारी गरिरहनुभएका समस्त महानुभावप्रति म हार्दिक धन्यवाद दिँदै आगामी दिनमा हरेक गतिबिधी सञ्चालनका क्रममा थप सचेत भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
-पर्शुराम नेपाल
नगरप्रमुख- महालक्ष्मी नगरपालिका, धनकुटा ।
यसैबीच, महालक्ष्मी नगरपालिकाको कार्यालयले पनि मेयर पर्शुरामकाे बचाउ गर्दै एक विज्ञप्ति निकालेकाे छ । नगरपालिकाले खेलकुदकाे चलिआएकाे नियम अनुसार नै मेयरलाई सलामी चढाइएएकाे र साे कुरा नबुझी ताेडमाेड गरी बद्नाम गराउने उद्देश्यले सामाजिक सञ्जालमा तस्वीरकाे ट्राेल बनाई भाइरल बनाइएकाेप्रति आफ्नाे ध्यानाकर्षण भएको जनाएको छ ।
साे विज्ञप्तीमा सामाजिक सञ्जालमार्फत गरिएका मेयरप्रतिका अपमानजनक टिप्पणीहरुप्रति दु:ख व्यक्त गर्दै त्यस्ता भ्रम फैलाउने सूचनाकाे पछि नलाग्न आग्रह समेत गरिएकाे छ । न्युज २४ अनलाइन