नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्मा प्रभाकरले सरकारले तत्काल गुठी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।
नेपालमा रहेका गुठीमा एकरुपता नभएको भन्दै नेता शर्माले विशेष गरी राजधानीमा रहेका गुठीहरु नेवारहरुको संस्कृति र सभ्यतासँग जोडिएको हुँदा सरोकारवालाहरुको सल्लाह र सुझाव लिएरमात्रै गुठी विधेयकलाई अगाडि बढाउनु उपयुक्त हुने बताए ।
रातोपाटीसँगको कुराकानिमा नेता शर्माले भने, ‘नेपालमा रहेका गुठीहरुको एकरुपता छैन । विशेष गरी राजधानिमा रहेका गुठीहरु जो संस्कृतिसँग र समाजको जिवनसँग जोडिएका छन् । तिनले सामाजिक र साँस्कृतिक सद्भाव कायम गर्ने खालका छन् ।
काठमाडौँ बाहिरका रहेका कतिपय गुठिहरुको अवस्था फरक पनि छ । तर, राजधानिमा देखिएका गुठि विशेष गरी नेवारहरुको सभ्यता र संस्कृतिसँग जोडिएका छन् ।’
नेता शर्माले थप अगाडि भने, ‘सरोकारवालाहरुको सल्लाह, सुझाव लिएर त्यसलाई राम्रो कसरी गर्न सकिन्छ भन्ने मान्यताका आधारमा मात्रै यो विधेयकलाई अगाडि बढाउनु राम्रो हुन्छ । तत्काललाई गुठी विधेयक फिर्ता लिनुपर्छ । र, काठमाडौं बासी जनताको आवाजलाई सुन्नु पर्छ ।’
सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ । सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि मुख्यत राजधानिमा नेवार समुदायले चर्को विरोध गरिरहेको छ । यो विधेयकले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै गुठियारहरु विरोधमा उत्रिएका छन् ।