काठमाडौ । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही सर्वोच्च अदालतको आदेशबाट रिहा भएका छन्।पत्रकारविरुद्ध अपशब्द बोलेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही पक्राउ परेका थिए ।
शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।
पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्लामञ्चबाट पक्राउ गरेको थियो। शाहीको पक्षमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए।
भ्रष्टाचार विरुद्ध खरो रुपमा अभिव्यक्ति दिँदै आएका शाहीलाई उनको आवाज दबाउन भुठ्ठा मुद्दामा फँसाइएको भन्दै त्यसविरुद्ध नागरिक समाज आन्दोलित हुँदै आएको छ।
शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै प्रहरीको चर्को आलोचना भएको छ । तर प्रहरीले हिरासतमा राखेर यातना दिएको कुरा अस्विकार गर्दै आएको छ।
सुर्खेतबाट काठमाडौं ल्याइएका शाहीले आफूलाई सुर्खेतमा हिरासतमा लिएर प्रहरीले निर्घात कुटपिट गरेको, हात पछाडी राखेर हत्कडी लगाएरै काठमाडौं पुर्याएको तथा पानी खान र पिसाब गर्न समेत नदिएको बताएका थिए। उनको शरीरमा निलडाम देखिन्छ भने खुट्टाको औँलाको नङ उप्किएको छ।
गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए। शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो।
शाहीसँगै प्रहरीले वीरेन्द्रनगर–६ का प्रेम विक, दीपक शाही, जुम्ला सिंजाका हिक्मत खत्री, मदन शाही, कोहलपुर बाँकेकी मेनुका भूषाल र रजिना परियारलाई पक्राउ गरेको थियो। शाहीसँगै पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको हो।