काठमाडौं, २० जेठ । संघीय संसदमा राप्रपाको एक मात्र सांसदले प्रतिनिधित्व गर्छन् । ती हुन्, सांसद राजेन्द्र लिङ्देन ।
लिङ्देन ती व्यक्ति हुन् जसले आफुले कहिल्यै घुस नखाने प्रण गरेका छन् । संघीय संसदमा अन्य सांसदहरुले परम्परागत रुपमा सपथ लिइरहँदा उनले भने आफुले घुस खाएमा त्यो आमाको रगत खाए बराबर हुने सपथ खाएका थिए । उनले अन्य सांसदहरुलाई पनि यही सपथ खान अनुरोध गरेका थिए । तिनै सांसद लिङ्देनले आर्थिक वर्ष २०७६/७७ को बजेटमा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कार्यक्रम समावेश नभएको भन्दै कडा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले सरकारले लोकप्रिय बजेट ल्याउन खोजेको भए पनि भ्रष्टाचार नियन्त्रण गर्ने तर्फ कुनै ध्यान नदिएको बताए ।
उनले भने, ‘यस बजेटमा भ्रष्टाचारलाई निर्ममढंगले प्रहार गर्ने कुनै पनि प्रकारको कार्यक्रम आएन । एकशब्द पनि यसबारे सम्बोधन नगरेरै बजेट बक्तव्य सकिएको छ । जबसम्म भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्दैनौं यी सबै कार्यक्रम कार्यान्वयन गर्न गार्हो हुनेछ ।’ उनले बजेटमा जतिसुकै लोकप्रिय कार्यक्रम ल्याएको भए पनि कार्यान्वयनको पाटोमा ध्यान नदिए त्यसले कुनै अर्थ नराख्ने पनि बताए ।
उनले सभामुखको ध्यानाकर्षण गराउँदै भने, ‘कृषि, शिक्षा जस्ता विषयमा उच्च प्राथमिकता दिएकोले म अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन्छु तर भष्टाचार घटाउने बारे कुनै ध्यान दिइएको छैन, यो राम्रो संकेत होइन ।’ सरकारले आगामी वर्षका लागि शिक्षामा अधिकतम बजेट विनियोजन गरे पनि शिक्षाको गुणस्तरमा ध्यान नदिए पैसाले मात्र केही नहुने लिङ्देनले बताए ।
यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम पनि दुरुपयोग भइरहेको भन्दै उनले प्रभावकारी ढंगले कार्यक्रम परिचालन गर्नुपर्नेमा जोड दिए । लिङ्देनले संसद समक्ष भने, ‘स्वास्थ्य बीमा गरेपछि जुनसुकै अस्पतालबाट पनि औषधी उपचार निःशुल्क पाउनुपर्छ ।’
संघीय सरकारले प्रदेश सरकारलाई दिने बजेट घटाएको भन्दै अन्य सांसदले असन्तुष्टि जनाइरहेका बेला लिङ्देनलले भने त्यसलाई सकारात्कम कदम भन्दै टिप्पणी गरे । उनले सरकारले प्रदेशको खर्च गर्ने क्षमतालाई ध्यानमा राखेर खर्च घटाएको भन्दै अर्थमन्त्रीलाई धन्यवाद पनि दिए । सांसद लिङ्देनले भने, ‘प्रदेशले स्थानीय तहलाई उपेक्षा गरेर गोजीबाट बजेट बाँडिरहेका थिए, सरकारले बजेट दिने कुरामा ध्यान पुर्याएको छ ।’