ललितपुर । ललितपुर एकान्तकुना स्थित सुनारटोलमा रहेको गणेशको मन्दिर सोमबार भत्काईएको छ ।
ललितपुर महानगरपालिका वडा नं १३ मा रहेको सुनारटोलमा ०५४ सालमा सुरु भएर ०५६ मा निमार्ण कार्य करिब सम्पन्न भएको मन्दिर गत केहि महिनादेखी विवादित बनेको थियो ।
तत्कालिन अबस्थामा सबै स्थानियवासीहरु समेत मिलेमतोमा बनेको मन्दिर र मन्दिरको निर्माण कार्यमा ललितपुर महानगरपालिकासंग रु ४४२०० समेत लिएर मन्दिर बनेको थियो ।
मन्दिर संरक्षणको लागी स्थानीय नापनक्सा गरी पाउ भनी तत्कालीन ललितपुर उपमहानगरपालिकामा निवेदन दर्ता गराएका थिए । मन्दिर आफ्नो जग्गाको भित्र परेको र उक्त मन्दिरले जग्गाको मोहडा नै बिगारेकोले सार्न र मन्दिरका लागी जग्गा पनि उपलब्ध गराई निर्माणमा पुरानो सामाग्री प्रयोग गर्दै आफ्नै लागतमा निर्माणसम्म गरिदिन कृष्णमाया घतानीले महानगरपालिकामा परेको निवेदन उपर जवाफ दिएकी थिईन । तर स्थानियवासीहरुले मन्दिर यथास्थानमै रहनु पर्ने भन्दै विरोध गर्दै आएका थिए । ललितपुर महानगरले कृष्णमाया घतानीको पक्षमा प्राविधिक प्रतिवेदनलाई आधार मानेर निर्णय गरेको थियो ।
अन्तत: सोमबार जग्गा धनिहरुले उक्त मन्दिर भत्काएका छन ।
उक्त जग्गाको नापी नक्सामा मन्दिर नभएको र फिल्डमा मन्दिर रहेको प्राविधिक प्रतिवेदन पछि साविकको निर्माण सामाग्री समेत प्रयोग गरी मन्दिर सारी आफ्नो जग्गाको संरक्षण गर्न पाउने ठहर्छ भन्ने ठहरको आधारमा निर्णय कार्यान्वयन गरी पाउ भनि जिल्ला प्रसाशनमा समेत निबेदन परे पछि उक्त मन्दिर भत्काइएको हो ।
मुलुकी देवानी संहिता २०७४ को दफा ३०० मा मठ, मन्दिर लगायतको देवस्थललाई सार्वजनिक सम्पत्ति मानिने भनिएको छ । त्यस्तै मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ मा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याउन नहुने भनि उपदफा (१) मा कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन भनिएको छ भने यसैको (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ भनिएको छ । यसरी कानुनले समेत मन्दिर भत्काउन नपाउने व्यवस्था गरेको छ । मन्दिर बनाउदा कुनै विरोध नहुने तर २० औं वर्षपछि मन्दिरले जग्गाको मोहडा बिगारेको भनी मन्दिर सार्न खोज्नुले पनि शंका पैदा गर्दछ ।
खुल्ला र सार्वजनिक रहेको जग्गा मानि मन्दिर बनाई स्थानीयले नियमित पुजा गर्दैआएको जग्गा के कसरी कृष्णमाया घतानीको नाउँमा भयो, तत्काल मन्दिर भत्काउने निर्णय रोकी पाउ भनि स्थानीयले उच्च अदालत पाटनमा उत्प्रेषण परमादेशको रिट निवेदन समेत दर्ता गराएका थिए । अन्तरिम आदेशको माग गरी दर्ता भएको रिट निवेदन उपर उच्च अदालत पाटनले अन्तरिम आदेश नदिएता पनि मुद्दा विचाराधीन अवस्थामा नै रहेको बेला मन्दिर भत्काईएको छ ।
मन्दिर भत्काउन स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरी मन्दिर भत्काउने कार्य भएको छ ।
२० औं वर्षसम्म मन्दिरको विषयमा विवाद नआएकोमा एकाएक कृष्णमाया घतानीले २०७४ पछि आफ्नो जग्गामा मन्दिर परेको भनी भत्काउन पर्ने माग राखेको स्थानीय बताउछन् ।