काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्ने गरेको जय नेपाल शब्द शब्दकोष बाट नै हटाउन माग गरेका छन्।
वैशाख २० र २३ गते भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रपतिले मेरो सरकार भन्न नहुने भए कांग्रेसले प्रयोग गर्ने गरेको जय नेपाल शब्द पनि शब्दकोषबाट डिलिट गर्नु पर्ने बताएका हुन्।
‘२०१७ मा जननिर्वाचित दुईतिहाइको सरकार अपदस्थ गर्दा सबै कुरा थान्को लगाइसकेपछि राजा महेन्द्रले जय नेपाल श्री पशुपतिनाथले सबैको कल्याण गरुन् भनेका थिए’, बास्कोटाले भने, ‘त्यही जयनेपाल बोकेर अहिले पनि कांग्रेस हिँडिरहेको छ। के कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?
पुस १ गतेको कालो दिवसका दिन भनिएको जय नेपालकै पछि लागेको छ त कांग्रेस, हामीले विरोध गरेका छैनौँ।’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दमाथि कांग्रेससहितले गरेको आलोचना ठीक नभएको बास्कोटाको भनाइ थियो।
‘बीपी कोइरालासहितले यसअघि नै मेरो जनता, मेरो देश भनेका छन्। यी सबै नेपाली नेपालीका साझा शब्द हुन्’, उनले भने, ‘मेरो सरकार’ प्रयोग गर्न हुन्न भने शब्दकोषबाटै डिलिट गर्नुपर्छ, जय नेपाल पनि डिलिट गरौँ’, उनले भने, ‘जय नेपाल’ आफ्नो सम्बोधनको अन्तिमतिर प्रतिपक्ष कांग्रेसले भन्ने गर्छ।
बीपी चीन भ्रमणमा जाँदा पनि मेरो देश, मेरो सरकार, मेरो जनता भनकै थिए, हामीले आलोचना गरेनौँ, अहिले किन यसरी आलोचना र विरोध?’ -स्वदेश नेपालबाट