काठमाडौं, २३ बैशाख । सनातन युवा मञ्च नेपालको आयोजनामा आगामी जेठ ६ गते भगवान बराह प्रादुर्भाव भएको पावन नगरी इटहरीमा दिव्य धर्म सभा हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मञ्चले यस्तो जानकारी गराएको हो । मञ्चद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘व्यक्तिगत स्वार्थरहित श्रुति–स्मृति, पूराण आदि मानवतावादी ग्रन्थहरुको उच्च अध्ययन गरेका ज्ञान विज्ञानको सदुपयोगबाट पहिचान र अस्तित्वसहितको सम्मानित जीवन बनाउन प्रष्ट दृष्टिकोण भएका महात्माहरुको दिव्य वाणीबाट लाभ उठाउन सो विराटसभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।’
कार्यक्रममा वैंकटेश्वर मन्दिर (तिरुपति) का पिठाधिश्वर स्वामी श्री पद्यमधराचार्यले धर्म भनेको कर्म गर्ने कुरा भएकोले अब गरिने धर्मसभाको सफलताको लागि शुभकामना दिनुभयो । उहाँले नेपाली जनताले जँड्याह, गुण्डाहरुलाई संसदमा पठाएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो,‘तिनीहरुले कृष्ण र रामलाई च्यालेन्ज गरेका छन् । ’
त्यतिमात्रै नभएर संसदमा पुगेकाहरुले आफ्नै घरमा आगो लगाउने काम गरेको उहाँको आरोप छ ।
पत्रकार सम्मेलनमा युवा सन्त श्री श्रीनिवासाचार्यले वर्तमान राजनीतिक माहोल गलत दिशातर्फ गैरहेको चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफूहरुले आयोजना गर्न लागेको धर्म सभा अहिंसात्मक र शान्तिवादी रहने पनि प्रष्ट पार्नुभयो ।
धर्मनिरपेक्षताको नाममा क्रिश्चियानिटीलाई प्रोत्साहन गर्ने काम पनि पछिल्लो समय भैरहेको भन्दै उहाँले गम्भीर आपत्ति जनाउनुभयो । त्यस्तै, संघीयताको नाममा राष्ट्रलाई विखण्डन गर्ने, शिक्षाको नाममा नेपालको मौलिक भाषा र संस्कृतिलाई नष्ट पार्ने, राजनीतिको नाममा देश र जनतालाई पंगु बनाउनेजस्ता योजनाबद्ध षड्यन्त्र भैरहेकोप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । सम्मनुत सभ्यता र संस्कारलाई पूर्नजागरण गर्नको लागि अब गरिने धर्मसभा फलदायी हुनेपनि उहाँको विश्वास छ ।

कार्यक्रममा बौद्ध धर्मगुरु खिलबहादुर थिङले हिन्दू धर्म र बौद्ध धर्म सदियौंदेखि आपसमा मिलेर आएको बताउँदै आफूहरु अबको अभियानमा पनि सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।
सनातन धर्म शिरोमणि स्वामी राम बाबाले सम्पूर्ण ओमकार परिवार एकजुट भएर धर्मसभा सफल पार्नुपर्ने बताउनुभयो । यसअघि सञ्चालन गरिएका धर्मसभामा पनि आफुहरुले धेरै अप्ठ्यारो भोग्नुपरेको सुनाउँदै उहाँले अब गरिने धर्मसभाको सफलताको कामना गर्नुभयो ।
त्यस्तै, विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले पनि अब हुने धर्मसभाको सफलताको कामना गर्नुभयो । भण्डारीले विगतमा पनि आफूहरुले धर्मसभाको आयोजना गरिसकेको बताउँदै यसअघि गरिएका धर्मसभाहरुलाई नेपाल सरकारबाट निष्तेज पार्ने काम भएको पनि स्मरण गराउनुभयो । उहाँले आफूहरुले सम्पूर्ण धर्म सुरक्षित रहनेगरि हिन्दू अधिराज्य बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।
आयोजकका अनुसार उक्त धर्मसभामा कम्तिमा पनि दश हजारको संख्यामा धर्म अनुरागी तथा राष्ट्रभक्तहरुको सहभागितमा रहनेछ ।