काठमाडौँ, वैशाख २३ गते । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डमा शनिबारदेखि परीक्षण प्रसारण थालिएको छ ।
आयोजनाअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको फिदिमखण्डको निर्माण सम्पन्नपछि प्रसारण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
४२.८८ किलोमिटर लम्बाइ भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन् ।
सो प्रसारण लाइन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा निजी क्षेत्रले बनाएका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइनमा जोड्न सकिने छ । फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असार १५ भित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी प्राधिकरणको छ ।
काबेली कोरिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रूपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । दुवै आयोजना थापाटार सब–स्टेसनमा जोडिने छन् ।
१३.३३ किलोमिटरको तेस्रो खण्डमा पर्ने ४० वटा टावरमध्ये ३९ वटाको निर्माण सकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । बाँकी एउटा टावर खडा हुँदैछ, करिब सात किलोमिटर तार तानिसकेका छौँ, बाँकी काम सकेर १५ असारभित्रमा लाइन सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ, उहाँले जानकारी दिनुभयो ।
३७.६ मेगावाटको काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायतका निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाहरूको विद्युत् तेस्रो खण्डमा जोडिने छ ।
काबेली कोरिडोर प्रसारण लाइन निर्माण करिब दस वर्षअघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’ मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले आयोजनाको काम ढिलाइ भएको प्राधिकरणले दाबी गर्दै आएको छ ।
तीन करोड दस लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।