काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन्।
आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन्। उनले भने 'म एक्लै हिँडेर मात्र पनि हुँदैन। त्यसका लागि तपाईहरुको साथ चाहिन्छ।'
कार्यक्रममा बोल्दै दाहालले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं?
पार्टीभित्रको रोदन पोख्दै दाहालले भने ‘हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो। कसिलो हुने गरी हात मिलाइन्थ्यो। हृदयदेखि भावना जागृत हुन्थ्यो। आफ्नोपनको अनुभुति हुन्थ्यो। हामीले जतिसुकै ठूला दुखकष्ट र चुनौति बिर्सन्थ्यौं। तर तपाइँ, हामीहरु आज देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेका छाैं।’
'हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन्।'
‘अहिले हाम्रो पार्टीमा कम्रेडहरु एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भा छ,एउटाले अर्कोलाई सिद्याउन खोजे’ दाहालले भने ‘कम्युनिष्ट पार्टीभित्र पनि बदमासीहरु निस्किए।’
'हामीहरु हिजो जङ्गलमा सुत्यौं। तर, जङ्गलको अनुभूति भएन। तर, अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा पनि एक्लै भएको महशुस हुन थालेको छ। अहिले के विचित्र भइराखेको छ? प्रचण्डले प्रश्न गरे।
‘मार्क्सवाद कुनै जमेको पोखरीको पानी जस्तो होइन। मार्क्सवादले वैज्ञानिक प्रयोग मान्छ। कदम चाल्ने नेता अस्थिर होइन, गतिशील हो। हामीले पोखरीको पानी भत्काउनुपर्छ। मलाई त्यो पोखरी भत्काएर गड्गडाउने खोलो बनाउन मन लाग्छ।’
मार्क्सले आफ्नै जीवनमा त्यो प्रयोग गर्नुभयो’ दाहालले भने ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय बनाउने र भत्काउने, पार्टी बनाउने र बिघटन गर्ने प्रयोग मार्क्सले नै गर्नुभयो। तर, हामीकहाँ नयाँ प्रयोग गर्दा अस्थिरको आरोप लाग्छ। हामीले समयअनुसार कदम चाल्नुपर्छ।’
दाहालले विगत सम्झदैं भने ‘म सानो समुहको महासचिव थिएँ। मलाई मेरै पार्टी भत्काउन मन लाग्यो। सानो नाङ्लो पसल थापेर हुँदैन भन्ने लाग्यो। मैले पार्टी भत्काउन थालें। नयाँ पार्टी बनाउने कोशिस गरें।’
‘विश्वलाई नयाँ विचार र कार्यदिशा दिने रणनीतिक उद्देश्यसहित पार्टी एकता गरिएको हो’ उनले भने ‘सरकार कब्जा गर्न र प्रधानमन्त्री हुन एकता गरिएको होइन।‘हामीले अस्तिसम्म आउँदा एकता टुंगाएका छौं। फलामे ढोका फोरेका छौं। बाँकी काम १÷२ दिनमा टुगाउँछौं। जनसंगठन र कार्यविभाजनको काम छिटै टुंगिन्छ' दाहालले भने।