काठमाडौँ । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बुलेटिनमा आज राति देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको बताएको छ । भने दिउँसो पश्चिमी भूभाग साथै पुर्बी भु-भागका केहि स्थानमा र मध्य पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
त्यसैगरी भोली शुक्रबार पनि देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ यो क्रम शनिबारसम्म जारी रहने बताइएको छ । शनिबार पनि पुर्वी भु-भागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।
महाशाखाले मंगलबार विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको थियो ।
उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।