काठमाडाैं । छिमेकी देश चीनको नाै दिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आजै (बुधबार) स्वदेश फर्कनु हुने भएकाे छ । स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लाग्नु भएकाे हाे।
स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ सम्मेलनका कार्य तालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लग्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयाे । अर्यालका अनुसार राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्नु हुने छ ।
चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गर्नुभएकाे थियाे ।
भ्रमणकाे क्रममा राष्ट्रपति भण्डारीले आइतबार ग्रेट हल अफ पिपुल्समा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेटवार्ता गर्नुभएकाे थियाे । सो भेटवार्तामा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिनुभएकाे थियाे ।
राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर्नुभएकाे राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनुभएकाे थियाे।
भेटका क्रममा बिआरआईमा नेपालको उपस्थिति र लाभ उठाउन सक्ने विषयका बारेमा समेत छलफल भएको बताइएको छ । यस्तै, नेपाल र चीनबीच सात वटा सम्झौता र केही समझदारीमा हस्ताक्षर भएको छ ।
पारवहन सम्बन्धी प्रोटोकलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनको तर्फबाट यातायात मन्त्री ली सिआओपिङले हस्ताक्षर गर्नुभएको छ । दुई देशबीच आर्थिक र प्राविधिक सहयोग सम्बन्धी सहमति पत्रमा पनि हस्ताक्षर भएको छ, जसमा नेपालको तर्फबाट अर्थमन्त्रालयको राजश्व हेर्ने सचिव लालशंकर घिमिरे र चीनको तर्फबाट चाइना इन्टरनेसनल कोअपरेशन डेभलपमेन्ट एजेन्सीका सभापति वाङ सिआताओले हस्ताक्षर गर्नुभयो ।
नेपालको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने सम्बन्धी अर्काे माइन्युटमा पनि सचिव घिमिरे र चीनको तर्फबाट सिआताओले नै हस्ताक्षर गर्नुभयो । चिनियाँ अनुदानमा नेपालमा सञ्चालित आयोजनामा सम्बन्धी प्रमाणपत्र पनि दुई देशबीच आदान प्रदान भएको छ, जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र चीनको तर्फबाट बाणिज्यमन्त्री झेङ शानको हस्ताक्षर रहेको बताइएको छ ।