लमजुङ, वैशाख १४ गते । स्मार्ट भिलेजको तयारी गरिएको लमजुङको पर्यटकीय घलेगाउँका घरमा एउटै रंगको छानो राखिएको छ । करीब ५ दशक पहिलेका जस्ता खिया लाग्नुका साथै पुरानो भएपछि घलेगाउँलाई छुट्टै पहिचान दिन रातो रंगको छानो राखिएको हो ।
सार्क भिलेजको रुपमा ख्याति कमाएको घलेगाउँ स्मार्ट भिलेजतर्फ उन्मुख भएपछि सवै घरमा एकैनासले रातो रंगको टीन राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार स्मार्ट भिलेजतर्फ अघि बढेको घलेगाउँलाई थप नमुना बनाउन सवै घरमा रातो रंगको छानो राखिएको हो ।
क्व्होलोसोंथर गाउँपालिका ३ मा पर्ने घलेगाउँलाई गण्डकी प्रदेश सरकारले स्मार्ट भिलेजको रुपमा अघि सारेको छ । क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका घलेका अनुसार स्मार्ट भिलेज बनाउने योजना अनुरुप गाउँका घरमा एउटै रंगको छानो छाउन गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षमा २९ लाख ४७ हजार रुपियाँ छुट्याएको थियो ।
क्व्होलासोंथर गाउँपालिकाले १५ लाख रुपियाँ छुट्याएको थियो । उक्त बजेटबाट गाउँका १ सय २० घरमा रातो रंगको छानो राखिएको उहाँले बताउनुभयो । ‘हामीले बर्षौंदेखिको पुरानो टीनको छानोलाई हटाएर नयाँ राखेका छौं । नयाँ पनि एउटै रंग रातो राखेका छौं’ उहाँले भन्नुभयो, ‘अब केही घरमा मात्रै रातो रंगको छानो राख्न बाँकी छ । हामी एक महिनामा सवै काम सक्छौं ।’ घरमा जस्पतापाता छाउने कार्य २० प्रतिशत बाँकी रहेको उहाँले बताउनुभयो ।
पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार स्मार्ट भिलेज बनाउने अभियान अन्तर्गत आवश्यक पूर्वाधार निर्माणकार्य थपिँदै लगिएको छ । गाउँका सिँढीहरु निर्माण तथा मर्मत भइरहेको छ । गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ । गाउँ तथा बाटो वरपर फूल रोप्न थालिएको छ ।
गाउँमा रहेको गुरुङ संग्रहालय, चियावारी, भेडीगोठलाई थप व्यवस्थित बनाउन थालिएको उहाँले बताउनुभयो । घर पालुवा जनावरलाई व्यवस्थापन गर्दै लगिएको छ । स्मार्ट भिलेज निर्माणका लागि सुरुमा एक करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएपनि सुरुमा देखिने गरी छानो एउटै रंगको बनाइएको र त्यसपछि आवश्यक पूर्वाधार थप्दै लगिने पर्यटन समितिका सचिव उमलबहादुर विकले बताउनुभयो ।
स्थानीय ६७ बर्षीय गजबहादुर गुरुङले पुरानो टीनको छानो हटाएर नयाँ रातो रंगको छानोले घर छाउँदा सुन्दर देखिएको बताउनुभयो । ‘डाँडाबाट हेर्दा हाम्रो गाउँ पुरानो जस्तो देखिन्थ्यो । अहिले त सवै एउटै रंगको देखिएको छ । नयाँ रंगको देखिएको छ’ उहाँले भन्नुभयो, ‘पहिले उराठ लाग्दो देखिने गाउँ नयाँ छानोले चम्किएको छ, रमाइलो लागेको छ ।’ ७६ बर्षीया रणबहादुर गुरुङले रातो रङको छानाले गाउँ नै रमाइलो देखिएको बताउनुभयो । ‘हाम्रा पालामा टीन थाह थिएन ।
खर र ढुंगाले छाएको थियो । पछि आएर टीनले आएका हो’ उहाँले भन्नुभयो, ‘अहिले आएर सवैको घरको छानो एउटै देखियो । गाउँको विकास भनेको यही रहेछ ।’ पछिल्लो समय प्रायः सवै घरहरु टीनले छाएको र टीन जति पुरानो भएपछि गाउँ नराम्रो देखिएकोमा रातो रंगको छानो राखेपछि गाउँ झलमल्ल देखिएको उहाँले बताउनुभयो ।
समुद्री सतहदेखि करीब २ हजार १ सय मिटर उचाईको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ ।
घलेगाउँमा नमुना चिया वगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । नयाँ तयार पारिएको होमस्टेमा कम्बोट खालको शौचालय प्यान समेत राख्न थालिएको छ । हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।
स्थानीय नदी एवं खोलाका माछा, भेडीगोठका भेडा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको मदिराको स्वादसंगै कुरिलो, निउरो, बडमले, सिस्नो जस्ता परिकारले पर्यटकलाई लोभ्याएको छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दुरीमा पर्छ । अहिले कच्ची मोटरबाटो भएपनि ग्राभेल भएकाले २ घण्टामै बेंसीसहर पुग्न सकिन्छ ।