काठमाडौं । नेपाली सेना र जनताको सम्बध प्रगाढ बनाउन नेपाली सेनाले पछिल्ला दिनहरुमा आमनेपाली जनताको गास, वास तथा स्वास्थ्यका विषयमा सरोकार राख्ने कार्यलाई निरन्तरता दिएको छ ।
सोही क्रममा नेपाली सेनाले प्रदेश नं.५ सरकार सामाजिक विकास मन्त्रालय, स्थानीय सरकार तथा बिभिन्न सामाजिक संघ संस्था एवं उद्योगी, व्यवसायीसँगको सहकार्यमा श्रीमध्य पश्चिम पृतना हेडक्वार्टरले यही वैशाख ४ गतेदेखि ८ गतेसम्म रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका मजगावामा ६ दिने शल्य चिकित्सासहितको संयुक्त रुपमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
उक्त शिविरको नं.५ प्रदेश प्रमुख उमाकान्त झाले उद्घाटन गरेका थिए भने मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सिताराम खड्काले समापन गरेका थिए ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रही प्रभावकारी चिकित्सा सेवाको पहुँच पुग्न नसकेको रुपन्देही जिल्लाका कोटहिमाई, सम्मरीमाई तथा मर्चावारी गाउँपालिकालगायत आसपासका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डेन्टल सर्जरी, भिडियो एक्सरे, प्याथोलोजी ल्याब सेवासहित आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ६८ जनाको सफल शल्यक्रिया गरेको नेपाली सेनाले जनाएको छ । यसका साथै जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्वास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगका करिव ७ हजार स्थानीयको लाभान्वित भएको समेत सेनाले जनाएको छ ।
उक्त शिविर समापन समारोहको अवसरमा शिविर संचालन भएको मर्चवार आदर्श उच्च माध्यमिक बिद्यालयको हाताभित्र नेपाली सेनाद्वारा विभिन्न जातका करिव दुई सयएक वटा बोटबिरुवाको बृक्षारोपण गरिएको थियो भने सो शिविरको यही बैशाख ७ गते प्रधानसेनापति पुर्णचन्द्र थापाले निरीक्षण भ्रमण गरेर बिरामी सम्बन्धी जानकारी तथा अन्तरक्रिया समेत गरेका थिए ।
यस किसिमको बृहत संयुक्त स्वास्थ्य शिविरले स्थानीय तहमा रहेका बिरामीलाई निःशुल्क शल्यक्रिया तथा औषधीसहितको उपचार सेवा प्रदान गरी स्वास्थ्य समस्यालाई केही हदसम्म भएपनि निवारण गर्न सहयोगसिद्ध हुन गई सैनिक–नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।