काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्दै धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाएको छ । धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने क्रममा थुप्रै नेता कार्यकर्ता पक्राउ परेका छन् ।
नेपाल सरकार समक्ष पेश गरेको हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग पूरा गराउन दबाब दिन जारी शान्तिपूर्ण जनसंघर्ष अन्तर्गत आज देशैभर आयोजित धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा काठमाडौं र विभिन्न जिल्लामा भएको प्रशासनिक दमन, धरपकड र नेता कार्यकर्ताको गिरफ्तारीको राप्रपा निन्दा एवं भत्सर्ना समेत गरेको छ ।
प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार "शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारको उपभोग गरिरहेको राजनीतिक शक्तिलाई घेराबन्दी गर्ने, अन्धाधुन्ध लाठीचार्ज गर्ने, पक्राउ गर्ने कार्य लोकतन्त्रमा लज्जाको विषय हो । ९४% ओमकार परिवारको आस्था र राष्ट्रिय पहिचानको रक्षा गर्दै धर्म निरपेक्षताको खारेजीको माग समेत गर्न पाउने तथा निर्वाध राजनीतिक गतिविधि गर्न पाउने अधिकार पनि संविधानले सुरक्षित गरेको यथार्थ नेपाल सरकारलाई राप्रपा स्मरण गराउँदछ ।" भनेक छन् ।
आज देशभर भएको प्रदर्शनको क्रममा काठमाडौंमा राप्रपा केन्द्रीय सदस्य यवती कार्की, नानू नगरकोटी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महासचिव जनक फडेरा, केन्द्रीय सदस्य त्रिविक्रम सिंह, जयबीर राउत, आशिष राउत, सूर्य बुढा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका उपाध्यक्ष मणि सिंखडा, कोषाध्यक्ष गुणराज राजभण्डारी, भक्तपुरका उपाध्यक्ष राममणि न्यौपाने, सिन्धुपाल्चोकका राजेन्द्र ढुंगेल, शिवराम नेपाल, शम्भु खनाल, राजन अधिकारी पक्राउ परेका छन् ।

राप्रपाको पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशका ७७ वटै जिल्लामा धर्म निरपेक्षको व्यानर र पोष्टर जलाउने कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर, रुपन्देही, धादिङ, जुम्ला, म्याग्दी, कास्की, पर्सा, बर्दिया, बाग्लुङ, कपिलबस्तु, तनहुँ, उदयपुरमा प्रशासनको धरपकड र गिरफ्तारीका बावजुद सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको बताईएको छ ।
प्रहरीको दमनबाट रुपन्देहीमा पार्टी अध्यक्ष सागरप्रताप राणा घाईते भएका छन्, यसै गरी बर्दियामा ४ जना, चितवनमा जगदिश अधिकारी घाईते भएका श्रेष्ठले बताएको छ ।

त्यसैगरी कपिलवस्तुमा अध्यक्ष नारायण बहादुर सिंह, प्रेमनाथ शुक्ल, रवि गुप्ता, बाग्लुङमा केदार कँडेल, विष्णु सापकोटा, सञ्जय खड्का सहित ९ जना, जुम्लामा पार्टीका केन्द्रीय सदस्य धनबहादुर थापा, अध्यक्ष बेद बहादुर शाही, भवानी प्रसाद न्यौपाने, श्रीकृष्ण बुढा, अंगतप्रसाद देवकोटा, रतिमान बिष्ट, कल्क बहादुर महत, भैरव सिंह कुँवर, दान बहादुर अधिकारी, पूर्ण बहादुर खत्री, लाल बहादुर रावत र राज गिरी, उदयपुरमा राम बहादुर कटुवाल, कास्कीमा जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, जिल्ला सहसचिव अशिल कुमार शाही, केन्द्रीय सदस्य सिता खड्का, जिल्ला सदस्यहरु आत्मराम सुवेदी, कृष्ण कुमार तिवारी, अक्कलबहादुर भुजेल, नुर महमद, लेख बहादुर गुरुङ लगायतका पार्टी सदस्यहरु अझै प्रहरीको नियन्त्रणमा रहेका बताईन्छ ।
शान्तिपूर्ण प्रदर्शनमा प्रशासनको धरपकडबाट गिरफ्तारीमा परेका राप्रपाका नेता, कार्यकर्तालाई अबिलम्व रिहाइ गर्न राप्रपा नेपाल सरकारसंग जोडदार माग गरेको श्रेष्ठले बताए ।