भक्तपुर । भक्तपुरको बोडेमा प्रत्येक वर्ष मनाउदै आएको जिब्रो छेड्ने जात्रा यो वर्ष पनि धुमधामले मनाईएको छ । यसअघि पनि जिब्रो छेडाउदैँ आएका बोडे ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले यो वर्ष पनि जिब्रो छेडेका छन् ।
यसअघि ०६२ देखि ०६५ सम्ममा ४ पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका बुद्धकृष्णले पुनः जिब्रो छेडाएर संस्कृति बचाउने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्। उनकै दाजु कृष्णचन्द्र बाग श्रेष्ठले १२ वर्षसम्म निरन्तर जिब्रो छेडेर संस्कृति बचाएको र बुद्धकृष्णले पनि ४ वर्ष जिब्रो छेडाएपनि ०६५ मा आमाको निधन भएपछि निरन्तरता टुटेको थियो।
जिब्रो छेडाउने व्यक्ति तीन दिन भोकै बसी एक महिना देखि तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिएको छ । जिब्रो छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ ।
विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती ९भ्य० बोकी बोडे नगर परिक्रमा गरी जात्रा सम्पन्न गरिन्छ ।
हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभएपनि पछिल्लो तथ्यांक अनुसार जुजुभाईका बाजे हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्या“ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धकृष्ण्र बाग श्रेष्ठले ४ र जुजुभाइले ८ पल्ट जिब्रो छेडेका छन् । यसपालि पनि फेरी तेस्रो पटक बुद्धकृष्ण बाग श्रेष्ठले निरन्तरता दिई सातौ पटक जिब्रो छेडेका छन् ।
एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष समेत रहेका बुद्धकृष्ण कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालकको रुपमा कार्यरत छन् ।