काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सबै स्थानीय तहमा गरेको धर्ना दिने कार्यक्रम रूपमा सम्पन्न गरेको छ ।
राप्रपाले गरेको शान्तिपूर्ण जनसंघर्ष अन्तर्गतको तेश्रो कार्यक्रमको रुपमा आज देशका सबै स्थानीय तहमा १ घण्टा धर्ना दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत २२ बुँदे माग राखी आन्दोलनरत राप्रपाले यसअघि काठमाडौंमा सिंहदरबार, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सम्पन्न गरेको राप्रपाले तीन हप्ता अघि देखि हिन्दु राष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको श्रेष्ठले बताए ।

राप्रपाले आफ्ना २२ बुँदे माग पूरा गर्न सरकारलाई दबाब सिर्जना गर्न, मागका पक्षमा जनमत बनाउन तथा स्थानीय तहमा भ्रष्टाचार बढेको र भ्रष्टाचार विकेन्द्रीत हुँदै गएकाले आज देशैभरका स्थानीय तहमा धर्ना कार्यक्रम घोषणा गरिएको थियो ।
स्थानीय तहमा धर्ना कार्यक्रम गर्ने क्रममा राप्रपा अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकामा, वरिष्ठ नेता दिपक बोहराले ललितपुर महानगरपालिकामा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले सूर्यविनायक नगरपालिकामा, उपाध्यक्ष प्रेमबहादुर भण्डारीले कोहलपुर नगरपालिकामा, महामन्त्री राजेन्द्र लिङ्देनले झापाको भद्रपुर नगरपालिकामा, महामन्त्री डा.धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकामा, महामन्त्री भाष्कर भद्राले महालक्ष्मी नगरपालिकामा धर्नाको नेतृत्व गरेको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

राप्रपाद्वारा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे माग आमजनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न बैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम, बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम र बैशाख ८ गते राजमार्ग र चोकहरुमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम रहेको छ ।
विज्ञप्ति