राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका मागहरू राखी आज काठमाडौंमा गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको व्यापक प्रशासनिक दमनको राप्रपा घोर निन्दा एवं भत्सर्ना गर्दछ ।
शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको उपयोग गरि धर्ना बस्ने पूर्व निर्र्धािरत कार्यक्रम अनुसार निषेधित क्षेत्रको सीमा मै रहेर गरिएको प्रदर्शनमा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रहार गरि भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको राप्रपा प्रचार विभाग प्रमुख मोहनले बताएका छन ।
राप्रपाले गत फागुन ७ गते सम्माननीय प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह लगायतका २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरि आफ्ना मागका सम्बन्धमा जनमत सिर्जना गर्ने र सरकारलाई माग पुरा गराउन दवाव दिने उद्देश्यले जनसंघर्षको घोषणा गर्दै शान्तिपूर्ण प्रदर्शनमा होमिएको छ, वार्ता र सहमतिका आधारमा समस्याको निकास खोज्नुको सट्टा दमन र हस्तक्षेप गरेर परिस्थितिलाई उत्तेजित बनाउनु उपयुक्त हुँदैन भन्ने राप्रपाको धारणा रहेको छ र सरकारले वार्ताको वातावरण बनाएमा वार्ताको माध्यमबाट निकास सम्भव हुने राप्रपाको धारणा रहेको छ ।

राप्रपाले आज काठमाडौंमा सिंहदरबार अगाडि, ७ वटै प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा धर्ना बस्ने क्रममा गण्डकी प्रदेश प्रमुख हेमजङ्ग गुरुङ, केन्द्रीय सदस्य जयलाल पुन, कास्की अध्यक्ष डा.महेन्द्र बहादुर कार्की सहित १९ जनालाई केही समय प्रशासनले नियन्त्रणमा लिएको छ । पोखरामा शान्तिपूर्ण धर्नामा बसेका पार्टीका नेताहरूलाई नियन्त्रण लिइएको घटनाको प्रति राप्रपा निन्दा गर्दछ ।
राप्रपाले जनसंघर्ष अन्तर्गत चैत २८ गते सम्पूर्ण स्थानीय तहमा १ घण्टा धर्ना दिने, वैशाख ५ गते धर्म निरपेक्षताको प्लेकार्ड र व्यानर जलाउने, बैशाख ८ गते राजमार्ग र चोकहरुमा हुने सत्याग्रहलाई थप प्रभावकारी बनाउनेछ ।
राप्रपाले आज सञ्चालन गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेपले निर्वाध राजनीतिक परिचालन गर्ने मौलिक हक र अधिकार कुण्ठित गरेको छ, जनसंघर्ष अन्तर्गत पूर्व घोषित आगामी कार्यक्रमहरुको स्वतन्त्र अनुगमन र पर्यवेक्षणका लागि मानवअधिकारवादी संघ, संस्था, नागरिक समाज, राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चारमाध्यमको राप्रपा ध्यान आकर्षित गर्दछ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा आज भएको प्रशासनिक दमनबाट सयौं नेता तथा कार्यकर्ताहरु र बाटोमा आवतजावत गरिरहेका सर्वसाधारण नागरिक घाइते भएका छन्, राप्रपाले सबै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना श्रेष्ठले बताए ।