हेटौँडा, चैत २० गते । मकवानपुरका कृषक यतिबेला चैते धान लगाउने तयारीमा छन् । धान लगाउन आवश्यक मल, बीउ, बिषादी र जनशक्ति जोहो गर्ने चटारो यहाँका किसानलाई छ ।
जिल्लाको तल्लो भाग मनहरी, हेटौँडा, हटिया, हर्नामाडी, गढी, छतिवन, फापरबारी, राईगाउँलगायतका स्थानमा चैते धान लगाइँदै आएको छ । कतिपय किसानले चैते धान लगाइसकेका छन् भने अधिकांश रोप्नका लागि खेत जोत्ने, बीउ काट्नेलगायतका काममा व्यस्त छन् ।
यहाँका किसानले खासगरी स्थानीय जातको हर्दिनाथ १, चैते ६, सी एच ४५ लगायतका हाईब्रिड जातका चैते धान लगाउने गर्छन् ।
मकवानपुरगढी गाउँपालिकाका विभिन्न वडामा गरी करिब ५० हेक्टर क्षेत्रफलमा चैते धान लगाएर असारमा बाली भिœयाउने गरिएको मकवानपुरगढी गाउँपालिकाका कृषि संयोजक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरगढी गाउँपालिकाको धमिलेफाँट, झल्ला, कालीखोला, धादिङफाँट, डुम्रेकुना, कुर्ले, खोलाखेत, रानीसेरालगायतका स्थानमा किसानले चैते धान खेती गर्दै आएका छन् ।
चैते धान खेती गर्ने क्षेत्रफल पछिल्लो समय घट्दै गएको छ । चैते धानको तुलनामा तरकारी वालीबाट आम्दानी बढी हुने भएपछि पछिल्ला वर्षमा तरकारीखेती गर्ने किसानको सङ्ख्या बढेको छ । जिल्लाको विभिन्न स्थानमा गरी करिब दुई हजार ४५० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ ।