काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले हिन्दु राष्ट्र पुन:स्थापनाको लागि हस्ताक्षर अभियान शुरु गरेको छ ।

राप्रपाद्वारा आयोजित "हिन्दु राष्ट्र पुर्नस्थापना हस्ताक्षर संकलन अभियान" कार्यक्रमलाई निरन्तरता दिदै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमालको संयोजकत्वमा मंगलबारबाट रत्नपार्कको शान्तिबाटिकामा हस्ताक्षर संकलन अभियानको सुरु गरिएको हो । हिन्दु राष्ट्र पुन: स्थापना हस्ताक्षर संकलन अभियान कार्यक्रममा मुस्लिम धर्मावलम्बीले समेत हस्ताक्षर गर्दै नेपाल हिन्द राष्ट्र हुनुपर्नेमा समर्थन जनाएका छन् ।

मंगलबारको हस्ताक्षर अभियान कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देन, प्रदेश ६ का अध्यक्ष धन बहादुर बुढा, प्रवक्ता सुशील श्रेष्ठ र निलकण्ठ काफ्ले, सहमहामन्त्री भरत रायमाझी लगायतको उपस्थित भएको संगठनका महासचिव विनोद भारतीले बताए ।

महासचिव भारतीले राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, विधार्थी संगठनका अध्यक्ष महेश सिंह लगायतका युवाहरु समेतको हस्ताक्षर कार्यक्रममा सहभागीता रहेको बताएका छन् ।
राप्रपाले ७७ वटै जिल्लामा हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर अभियान सञ्चालन गरेको छ । हिन्दु राष्ट्र कायम गरिनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि गोलमेच सम्मेलन हुनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राखी गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइ जनसंघर्ष कार्यक्रमको घोषणा गरेको थियो । जनसंघर्ष अन्तर्गत नै राप्रपाले १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ ।

राप्रपाले हिन्दु राष्ट्र पुन:स्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ । जस अनुसार चैत्र १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, बैसाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर र प्लेकार्ड जलाउने तथा बैसाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन् ।
