सप्तरी– प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ ।
यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरुसँग सोधपुछ गरिरहेको जनाउँदै दुई÷तीन दिनमै पत्ता लाग्ने दाबी गरेको छ । अनुसन्धानमा खटिएका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, “तीव्रताका साथ अनुसन्धान भइरहेको छ, प्रश्नपत्रबाहिर ल्याउने कार्यमा संलग्नहरुको अनुसन्धान गर्दै जाँदा २०औँ÷२५औँ लेयरसम्म पनि पुग्नुपर्ने हुन्छ तर जति लेयर भए पनि पत्ता भने लाग्छ ।”
आइटी विशेषज्ञसहित सप्तरी आएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्का र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टसहितको २० जनाको टोलीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानलाई तीव्र बनाएको टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलमा प्रश्न आदानप्रदान गर्ने सप्तरीका शिक्षक, पत्रकार, विद्यार्थी र अभिभावकहरुसँग सोधपुछ गरी अन्तिम प्रयोगकर्तासम्म पुग्ने प्रयास गरिरहेको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शुक्रबारदेखिका परीक्षा स्थगन गर्दा प्रदेश नं २ का ७० हजार ५६८ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
बोक्सी भन्दै कुटपिट गर्ने पक्राउ
विष्णुपुर गाउँपालिका–६ रञ्जीतपुरकी एक वृद्धालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा राजगढ गाउँपालिका–३ का ५० वर्षीय धिरेन्द्र यादव पक्राउ परेका छन् ।
घरधनी ६० वर्षीया चनियादेवी राउतलाई आरोपित धिरेन्द्रले उनकी जेठी श्रीमतीलाई कथित बोक्सीको टुनामुना लगाई मारेको भन्दै कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । कथित बोक्सीको आरोपमा अश्लील गालीगलौज गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले धिरेन्द्र र उनकी कान्छी श्रीमती ३० वर्षीया कञ्चनदेवी यादवविरुद्ध आज उजुरी दर्ता गरेको छ ।
पीडितलाई उनकै घरमा डेरा लिई बसेका आरोपितहरुले गत माघ ५ गते घरभाडाको विषयमा भएको झगडापछि कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरी कुटपिट गरेको पीडितले आरोप लगाएको छ । (रासस)