काठमाडौं । केही समयदेखि झापामा बस्दैआउनु भएका राजा ज्ञानेन्द्र विक्रम शाह आइतबारदेखि इलाम र पाँचथर जिल्लाको ५ दिने भ्रमणमा जाँदै हुनुहुन्छ ।
भ्रमणका क्रममा ती जिल्लाको भ्रमणमा रहँदा राजा ज्ञानेन्द्रले त्यहाँस्थित विभिन्न देवीदेवताको मन्दिर तथा शक्तिपीठहरुमा पूजाआराधना तथा दर्शन गर्ने बताईएको छ ।
भ्रमणका क्रममा आइतबारसाँझ राजा ज्ञानेन्द्र इलामको सदरमुकाम पुग्ने र त्यहाँस्थित होटल समिटमा बस्ने व्यवस्था मिलाइएको उनका संवादसचिव डा. फणिराज पाठकले जानकारी दिए ।
यसैगरी दोस्रो दिन अर्थात् सोमबार राजा ज्ञानेन्द्र पाँचथरको फिदिमस्थित गडीमा रहेको गडी मन्दिरमा पुगेर गडीमाईको दर्शन तथा आराधना गर्नु हुनेछ। सोहि दिन बेलुका उनी त्यहाँस्थित होटल मानश्रीमा बस्नु हुने बताईएको छ ।

त्यसैगरी राजा ज्ञानेन्द्रले मंगलबार इलाम फर्किएर त्यहाँस्थित माईस्थान भगवतीको दर्शन तथा आराधना गर्नेछन् भने अर्को दिन बुधबार पनि उहाँ इलाममा नै बस्नु हुनेछ ।
यसरी पूर्वी पहाडका दुई जिल्ला इलाम र पाँचथरको भ्रमण पूरा गरी उनी २१ गते अर्थात् बिहीबार मात्रै झापाको दमक फर्कने कार्यक्रम छ ।
यसअघि तराई मधेशका केही जिल्लाको भ्रमणमा पनि राजा ज्ञानेन्द्रले त्यहाँस्थित मठ मन्दिर तथा देवीदेवताको मन्दिरमा पुगेर पूजाआराधना तथा दर्शन गर्नु भएको थियो ।
सो क्रममा उहाँले त्यहाँ उपस्थित सर्वसाधारणसँग उनीहरुका पीरमर्का र गुनासो सुन्नु भएको थियो । ती जनताका गुनासोका आधारमा राजा ज्ञानेन्द्रले आफ्नो प्रतिक्रिया समेत दिनु भएको थियो । उहाँले राज्यप्रति जनताका गुनोसो रहेको र राज्यले जनताको आकांक्षालाई सम्बोधन गर्न नसकेकोमा दुःखेसो समेत व्यक्त गर्नु भएको थियो ।