८ चैत, काठमाडौं । सरकारले भारतीय राजदूत मन्जिव सिंह पुरीले राजा ज्ञानेन्द्रसँग जनकपुरमा भेट गरेको विषयलाई आपत्तिजनक ठहर गरेको छ ।
मधेश मिसनमा रहेकमा राजासँग राजदूत पुरीले गोप्य भेट गरेको सरकारी संयन्त्रहरुले सूचना दिएपछि मन्त्रिपरिषद बैठकमै यो विषयले प्रवेश पाएको हो ।
बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतका गतिविधि गर्दै हिँडेका राजासँगका भारतीय राजदूतले भेट गर्नु आपत्तिजनक रहेको भन्दै स्पष्टिकरण लिने संकेत दिएका छन् ।
नागरिकका रुपमा राजालाई संविधान अन्तर्गतबाहेक अन्य गतिबिधि गर्ने छुट नरहेको समेत सरकारका एक बरिष्ठ मन्त्रीले बताए । ‘राजासँग भारतीय राजदूतले सरकारलाई जानकारी नदिई किन भेटे भन्ने प्रश्न गम्भीर छ । कतै भारत फेरि नेपालमा नियन्त्रित अस्थिरताको विजारोपण गर्न त खोजिरहेको छैन ? यो गम्भीर प्रश्न हो’ ती मन्त्रीले शुक्रबार भने, ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमै यो विषयमा आपत्ति प्रकट गरेर स्पष्टिकरण मागिने संकेत दिनुभएको छ ।’
गत साता जनकपुरलाई मुकाम बनाएर राजा ज्ञानेन्द्र शाहले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका बिभिन्न मठमन्दिरको भ्रमण गर्नु भएको थियो ।
राजाको भ्रमणका क्रममा ठूलो संख्यामा मधेशी समुदाय जम्मा भएका थिए । उनीहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए । मधेशमा हिन्दू धर्मको रक्षाका लागि राजा आवश्यक रहेको बहस समेत चलाइएको छ ।
जनकपुरको शीताशरण होटलमा बसेका राजालाई भारतीय राजदूत पुरीले सोही होटलमा भेटेको सूचना सरकारले पाएको छ । भारतीय दूतावास स्रोतले भने राजासँग भएको भेटको पुष्टि गर्न चाहेको छैन ।
यसैबीच सरकारले राजा ज्ञानेन्द्रका गतिबिधिमा समेत निगरानी बढाएको छ । संविधान विपरीत गणतन्त्र, संघीयता र धर्म निरपेक्षविरुद्ध खुलेआम गतिबिधि गर्ने र आफैं बिभिन्न ठाउँमा गएर उक्साहटपूर्ण अभिव्यक्ति दिने क्रम बढेको भन्दै मन्त्रीहरुले उहाँको गतिबिधिमा समेत लगाम लगाउनुपर्ने बताएका छन् ।