काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले परिकल्पना नै नगरिएको अन्तरिम संविधान ल्याएर त्यसलाई संशोधन गरी राजतन्त्र फालिएको भन्दै अध्यक्ष थापाले राजा नहुँदाको देश संकटमा पर्ने बताएका छन् ।
नागरिक नेटवर्कको अन्तर्वार्तामा बोल्दै उनले भने, ‘नसोचेको अन्तरिम संविधान बनाइयो, माओवादीलाई एकाएक सत्तामा ल्याएर, केही सिट सुम्पेपछि राजा हटाउने काम भयो। त्यो अन्तरिम संविधानलाई पुनःसंशोधन गरेर राजा फालियो।’ जनताको प्रत्यक्ष अभिमतबिनै राजा फाल्ने गलत काम भएको तर्क गरे ।
थापाले राजतन्त्र हटाएको १२ वर्षमा नेपाली जनताले कुनै उपलब्धि नपाएका बताएका छन् ।
२०६२/०६३ पछि जनताको जीवनस्तरमा तात्विक फरक नआएको भन्दै राजतन्त्रको विकल्प नरहेको बताएका छन्। बुधबार साँझ नागरिक फ्रन्टलाइनमा उनले राजतन्त्र हटेपछि भ्रष्टाचार, राष्ट्रिय विखण्डनको आवाज उठेको भन्दै देशको सार्वभौमसत्ता र अखण्डताको विषयलाई हल्काफुल्का ढंगले लिन नहुने बताए।
एकाध घटनाबाहेक राजतन्त्र पाखा लगाएको १२ वर्षमा जनताले के पाए। उनले भने, 'जनताको जीवनस्तर सुध्रिएन। राष्ट्रिय विखण्डनको आवाज उठेको छ। नेपाल टुक्र्याउनुपर्छ भन्ने आवाज सतहमा आएको छ।' उनले सार्वभौम र अखण्डताको कुरालाई हल्काफुल्का ढंगले लिन नहुने बताए।
मुलुकमा कहीँ कतै उठाइएको धर्म निरपेक्षताको मुद्दा उठाइएको भन्दै उनले विगतमा नेताहरुले गल्ती गरेको आरोप लगाए।
नेसनल सेक्युरिटी हुन नसेकेको प्रति अध्यक्ष थापाले बाह्य शत्तिको चलखेलमा नेपाललाई हिन्दुराष्ट्र हुन नदिएको आरोप लगाए। २०६५ साल जेठ १५ गते नभई अन्तरिम संविधानबाटै राजा फालिएको उनले बताए।
राजतन्त्रात्मक व्यवस्थामा मुलुक स्थिर भएको तर, लोकतन्त्रमा झनै बेरोजगारी, असुरक्षाको समस्या बढेको बताए। मुलुकमा बहुदलीय व्यवस्थाको नाममा सर्वसत्तावाद लादिएको भन्दै लोकतन्त्र आए पनि किन विप्लव सीके राउतजस्ता व्यक्ति जन्मिए भनी प्रश्न गरेका थिए।
लोकतन्त्रपछिको सरकारमा किन सहभागी हुनुभयो भन्ने प्रश्नमा उनले भने, ‘त्यो समय मेरो र पार्टीको तर्फबाट एउटा गम्भीर राजनीतिक र रणनीतिक भुल भएको हो।’ तर, उनले वर्तमान संविधानलाई आलोचनात्मक समर्थन गर्दै लोकतान्त्रिक तरिकाले यसको विश्लेषण गर्ने बताए।
धर्मको विषयमा उनले अरुको धर्म स्वीकार्ने र मुलुकलाई धार्मिक निरपेक्ष नभई धार्मिक स्वतन्त्र मुलुक बनाउनुपर्ने धारणा राखे। उनले भने, ‘सबै धर्मलाई एकताको सूत्रमा बाँध्ने धर्म भनेको हिन्दू नै हो। हिन्दू धर्मले सबैलाई उत्तिकै सम्मान गर्छ। हिन्दूधर्मको विकल्प छैन।’