काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुलुकबाट जोगाउन नेपालमा राजसंस्थाको आवश्यक बढेको बताएको छ।
‘मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ समापन समारोहमा राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रलाई एकताको सुत्रमा आबद्ध गर्न चुनावी राजनीतिभन्दा माथि उठेको साझा संस्थाको रुपमा राजसंस्थाको आवश्यता बढ्दै गएको बताएका हुन्।
‘‘नेपालका दुबै छिमेकी मुलुक चीन र भारत महाशक्ति बन्ने होडमा छन्। उनीहरुको स्वार्थ नेपालमा हुन्छ। यदाकदा पार्टी र पार्टीका नेताहरु अन्यथा नठान्ने हो भने बिकाउ पनि हुन सक्दछन्,’’ समापन समारोहमा उनले भने, ‘‘यस्तो अवस्थामा राष्ट्रलाई एक्ताको सुत्रमा आबद्ध गर्न एउटा चुनावी राजनीतिभन्दा माथि उठेको साझा संस्थाको रुपमा राजसंस्थालाई पनि सानो स्पेस दिन आवश्यक छ।’’
निरंकुश हुन नदिन र प्रजातन्त्र मासिन नदिन राजालाई भविष्यमा निरंकुश बन्न नसक्ने र प्रजातन्त्र मास्न नसक्ने गरी घेराबन्दीमा राख्न सकिने अध्यक्ष थापाको भनाइ थियो।
‘‘कतिपयले राजालाई फेरि ठाउँ दिए राजा निरंकुश हुन्छन्, प्रजातन्त्रलाई मास्छन् भन्ने गुनासो र आशंका हुनसक्छ। यदी त्यो आशंका सही हो भने यसको पनि उपाय खोज्न सकिन्छ,’’ उनले भने, ‘‘भविष्यमा राजा निरंकुश बन्न नसक्ने, प्रजातन्त्रलाई मास्न नसक्ने घेराबन्दी हामी गर्न सक्छौं।’’
राप्रपाका अध्यक्ष थापाले राजालाई निरंकुश हुन नदिने उपाय पनि समापन समारोहमा सुझाए। उनले भने, ‘‘संसदको नियन्त्रणमा रहने, संविधानको परिधिभित्र रहने एउटा सेरेमोनियलको रुपमा एकताको प्रतिकका रुपमा राजसंस्थालाई केही स्पेस दिउ र लोकतन्त्रलाई बलियो बनाऔं।’’
उनले विगत १२ वर्षदेखिको राजनीतिक अभ्यासबाट मुलुकमा छ वटा प्रवृत्ति सिर्जना भएको पनि बताए। थापाले भने, ‘‘१२ वर्षदेखिको राजनीतिक अभ्यासबाट छ वटा समस्या भन्नुस अथवा प्रवृत्ति सिर्जना भएका छन्।
पहिलो गरिबी र बेरोजगारी समस्या विकाराल, दोस्रो लोकतन्त्रको आवरणमा लुटतन्त्र चलेको छ, बिखण्डनकारी तत्व सतहमा देखिएको छ।’’ उनले यो बीचमा सनातन धर्म र संस्कृतिमाथि आक्रमण बढ्नुका साथै सर्वसत्तावादको संकेत र नयाँ माओवादीको पुनरावृत्ति भएको पनि बताए।
अहिलेकै अभ्यासलाई निरन्तता दिँदै गए देशमा फेरि राजनैतीक अस्थिरता र अराजकताको वातावरण सिर्जना भएर देश अन्ततः विखण्डनततर्फ जाने सम्भावना प्रवल रहेको थापाको भनाइ थियो।