सर्लाही। राजा ज्ञानेन्द्र शाहले सर्लाही सदरमुकाम मलङ्गवामा रहेको दुर्गा भगवती मन्दिरमा विहीबार (आज) पूजाअर्चना गर्नुभएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका बाबजुत कडा सुरक्षाबीच सदरमुकाम मलङ्गवा आउनु भएका पूर्वा राजा शाहले मलङ्गवा नगरपालिका–८, स्थित दुर्गा भगवती मन्दिरमा झण्डै १५ मिनेट पूजाअर्चना गर्नुभएको हो ।
उहाँले मन्दिरभित्र पूजाअर्चना गरिरहँदा मन्दिर बाहिर उहाँका शुभेच्छुक, शुभचिन्तक तथा समर्थकले उहाँको जय–जयकार गरेका थिए । उनीहरुले राजा आउ जेश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय नजिकको सो मन्दिरमा पूजाअर्चनापछि केहीबेर पैदल हिँडेर जिविस चौकस्थित एक पार्टी प्यालेसमा आएर आफ्ना समर्थकसँग छोटो भेटघाट समेत गर्नुभएको थियो ।
राजा शाहलाई स्वागत तथा भेटगर्न जिल्लाका विभिन्न स्थानबाट ठूलो संख्यामा शुभेच्छुकहरु सदरमुकाम मलङ्गवामा भेला भएका थिए । सर्लाहीको कार्यक्रम सकेर बिहीबार साँझ राजा शाह पुनः प्रदेश दुईको राजधानी जनकपुर फर्कनु भएको छ ।
जनकपुरमा पनि राजका समर्थकहरूले ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए ।
बुधबार अबेर साँझ जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै राजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेकाे थियाे ।