३० फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत फागुन १५ गतेबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौं आइपुगेको छ ।
पूर्वको ताप्लेजुङबाट सुरु भएको यात्रा सुदूरपश्चिमसम्म पुगेर काठमाडौं फर्किएको हो । मेची महाकाली यात्राको टोली अध्यक्ष कमल थापासहित बुधबार पोखराबाट काठमाडौं फर्किएको हो ।
यात्राका क्रममा ३७ जिल्लामा दुई हजार ८ सय १० किलोमिटर यात्रा गरेको र साना ठूला गरी १ सय ५२ सभा भएको राप्रपाले जनाएको छ ।

राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन कलश यात्रासहित चैत १ गते भृकुटीमण्डपमा गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाएर राप्रपाले आन्दोलनको कार्यक्रम सुरु गरेको थियो ।
राप्रपाले राज संस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुनुपर्ने, कालापानी लगायतको अतिक्रमित जमिन फिर्ता हुनुपर्ने,२०४७ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका विभिन्न माग राखेको छ ।
स्वाभिमान यात्रा चैत १ गते भक्तपुरबाट काठमाडौ आइ शहरका विभिन्न भाग परिक्रमा गरि डिल्लीबजारबाट शुरु हुने कलश यात्रा सहित अपरान्ह १२.१५ बजे भृकुटीमण्डपमा विशाल जनसभा गर्दै समापन हुनेछ । सभालाई अध्यक्ष कमल थापा सहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् ।