पाेखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सीके राउत समूहबीच हालै भएको ११ बुँदे सम्झौता ‘राष्ट्रघाती’ भएकाे बताउनुभएको छ ।
कास्कीको पोखरामा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले नेपालको कुनै पनि भू–भाग टुक्र्याउने कुरा सैह्य नहुने भन्दै सम्झौतामा ‘जनअभिमत’ भन्दै जनमत संग्रह खुला गरिएको दावी गर्नुभयो ।
राउत मूलधारको राजनीतिमा नआउने दाबी गर्नुभएका देउवाले राउतका गतिविधि र अभिव्यक्तिको सरकारले खण्डन नगरेको प्रति अापत्ति प्रकट गर्नुभयाे ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताविरुद्ध जनमत संग्रह हुनै नसक्ने र राउतसँगको सम्झौतामा जनमत संग्रहको प्रसंग नरहेको स्पष्टीकरण दिइ सक्नु भएको छ । देउवाले भने राउतका गतिविधि र अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।
‘प्रतिपक्ष कमजोर देखियाे नि’ भन्ने सञ्चारकर्मीहरूकाे प्रश्नमा उहाँले ‘भोट हाल्ने बेलामा कम्युनिष्टलाइ हाल्ने अनि कांग्रेसकाे खाेजी गर्ने’ भन्दै प्रतिप्रश्न गर्नुभयाे । उहाँले अाफूहरू एमालेजस्तो तीन महिनासम्म संसद नै चल्ने नदिने पार्टी त नभएकाे तर सरकारका क्रियाकलापले हद नाघेपछि अब सशक्त आन्दोलनमा जाने बताउनुभयाे । तर कस्तो आन्दोलनमा जाने भन्ने कुराचाहिँ उहाँले खुलाउनुभएन ।
यस्तै, बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राउतसँग अपरिपक्व सम्झौता गरेर सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाउनु भएको छ ।
सम्झौतामा सरकार र राउत दुवैको नियत ठीक नभएको भन्दै नेता पौडेलले पृथकतावादी आन्दोलन सकियो भनेर प्रधानमन्त्रीले नै दुश्प्रचार गरिरहेको टिप्पणी पनि गर्नुभयो ।