दाङ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सीके राउतले विखण्डनको मुद्दा नछोडेको भए तत्काल कारवाही गर्नुपर्ने बताएका छन् ।
सरकारसँगकाे सम्झौता विपरित राउतले विखण्डनको नारा लगाउन थालेको भए सकारले फेरि पक्राउ गरेर कारवाही थाल्नुपर्ने उनले बताए ।
सरकारसँग भएकोे सम्झौताबारे दुई पक्षका फरकफरक धारणा आउनु दुखद भएको बताउँदै उनले बल प्रयोग गर्नुको साटो सकभर छलफलबाटै समाधानतर्फ लाग्नु बुद्धिमानी हुने बताए।
'सरकार आक्रोशमा नआइ संयमित तरिकाले समस्या समाधानको बाटो खोज्नुपर्छ,' मेची महाकाली स्वाभिमान यात्राका क्रममा सोमबार दाङ आइपुगेका थापाले घोराही र तुलसीपुरका कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'विगतमा माओवादी द्वन्द्वलाई दमनबाट नियन्त्रण गर्न खोज्दा देशले ठूलो क्षति व्यहोरेको थियो। अहिले त्यसबाट पाठ सिकेर सकभर वार्ता र छलफलबाट सहमतिबारे स्पष्ट पारी दुवै पक्षले कार्यान्वयन गर्नुपर्छ।'
राउतको समूहले जनकपुरमा गरेको नाराबाजी र प्रदर्शन संविधान बिरोधी र गैरकानूनी काम भएको उनले बताए। यस्ता गतिविधिलाई सरकारले नियन्त्रण गर्नुपर्ने थापाले बताए। 'सरकारकै संरक्षणमा राष्ट्र बिखण्डनको नारा लाग्नु हुँदैन। यदि रावतले विखण्डनको मुद्दा छोडेका छैनन् भने सरकारले फेरि पक्राउ गरेर कारवाही गर्न सक्नुपर्छ,' उनले भने, 'जनकपुरमा लागेको नारा राष्ट्र विरोधी हुन्। यसबाट राउत आफ्नो स्वार्थपूर्तिमा लागेको स्पष्ट हुन्छ।'
रिपोटर्स क्लबले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले तराई बिखण्डनको नारा बोकेका राउत र सरकारबीच भएको सम्झौता टिक्न नसक्नु राष्ट्रका लागि घातक भएको बताए।सहमति विपरित राष्ट्र टुक्राउने नारासहित प्रदर्शन गर्नुले राउतको गलत मनसाय स्पष्ट पारेको उनले बताए।
घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दे थापाले राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रलाई सहमतिबाटै पुनस्र्थापित गर्न खोजेको बताए। यी विषयलाई जनमत संग्रहबाट विभाजित गर्न नहुने तर्क गर्दै उनले राजनीतिक दलहरुबीच गोलमेच सम्मेलन गरेर नै पुनर्स्थापित गर्न चाहेको धारणा व्यक्त गरे।
'विगतमा राजतन्त्र र हिन्दु राष्ट्र हटाउँदा जनमत संग्रह भएको थिएन। त्यसकारण अहिले स्थापित गर्दा पनि जनमत संग्रह गर्नु उचित हुँदैन,' उनले भने, 'हामीले छलफलबाटै यी मुद्दा पुनर्स्थापित गर्न चाहेका छौं। यसमा विस्तारै जनताले साथ दिनेमा आशावादी छौं।'
अहिले राप्रपाले देशभरि नै शान्तिपूर्ण तरिकाले जनता जगाउने काम गरिरहेको थापाले जानकारी दिए। राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन दाङ आइपुगेको बताउँदै उनले यो अभियानपछि पनि सरकारले आवाज नसुने सशक्त आन्दोलन थाल्ने चेतावनी दिए।
२०६२/०६३ को आन्दोलनपछि राष्ट्रघाती नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरिकता दिएको आरोप लगाउँदै थापाले त्यसबाट सनातन धर्म र संस्कृतिमाथि आक्रमण भएको बताए।