बर्दिया । राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता भोट हालेर फैसला हुने विषय नभएको भन्दै नेपालको एक इन्च जमिनमा पनि सम्झौता गर्न नसकिने उल्लेख गरेका छन् ।
पार्टीको जारी मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको १२ औं दिन आइतबार बिहान बर्दियाको राजापुरमा आयोजित सभामा अध्यक्ष थापाले सरकार र सिके राउत बीच भएको सम्झौताको अन्तर्य जनमतसंग्रह हो भने त्यसको परिणाम भयंकर हुने भन्दै सम्झौतामा प्रयोग भएको भाषाले भ्रम सिर्जना गरेको र यो संवेदनशील विषय भएकाले सरकारले अबिलम्ब स्पष्टीकरण दिनुपर्ने बताउँदै राष्ट्रियता खेलाँचीको विषय नभएको उल्लेख गरेका छन् ।
अध्यक्ष थापाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता भोट हालेर निर्णय र फैसला हुने विषय नभएको भन्दै नेपालको मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मको १,४७,१८१ वर्ग किमी भूभाग भोट वा चुनाव जितेर प्राप्त गरेको नभई हाम्रा पुर्खाले रगत पसिना बगाएर र ज्यानको बाजी लगाएर राष्ट्र एकीकरणबाट प्राप्त गरेकाले नेपालको एक इन्च जमिनमा पनि हामी सम्झौता गर्न नसकिने बताएका छन् ।
अध्यक्ष थापाले जतिसुकै कठिन अवस्थामा पनि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकता छलफलको विषय हुन नसक्ने भन्दै व्यवस्था परिवर्तन हुनसक्ने, सरकार परिवर्तन हुनसक्ने, पटकपटक भइरहेको पनि छ तर भोट हालेर सिमा घटाउने वा बढाउने यदि कसैले सोचेको छ भने त्यो कदापि पूरा नहुने दाबी गरेका छन् । उनले भने “नेपालको भूगोल परिवर्तन हुनै सक्दैन ।“
राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज १२ औं दिनमा आइपुगेको छ । आज कैलाली, बर्दिया र बाँके जिल्लाका विभिन्न ८ स्थानमा साना तथा ठूला सभाहरु हुनेछन् ।
राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, सुशासनको प्रत्याभूति, आर्थिक रुपमा विपन्नलाई आरक्षणको नयाँ व्यवस्था लगायतका २२ बुँदे माग राखी गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको र आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र जनमत सिर्जना गर्न स्वाभिमान यात्रा गरिरहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।