काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको बुधबार आठौं दिन पुगेको छ । यही फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको यात्रा तराई मधेशमा विभिन्न कार्यक्रम सकेर बुधबारबाट पश्चिम लाग्ने भएको छ ।
बुधबार लुम्बिनीमा धार्मिक अनुष्ठान तथा भैरहवामा शक्ति प्रदर्शन सहित विशाल आमसभा गरिने सो पार्टीका सहप्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बुधबार बर्दघाट, भुमहि, परासी, पकडि, कपिलवस्तुको तौलिहवा, महाराजगन्ज, बहादुरगंज, कृष्णनगरलगायतका स्थानमा कोणसभा हुनेछ ।
यसअघि मंगलबार मकवानपुरको हेटौंडामा धार्मिक अनुष्ठान गरि शुरु भएको यात्राले हेटौंडा नगर परिक्रमा गरि सिमाचोक पुगेर बृहत आमसभामा परिणत भएको थियो । हेटौंडाको सभा समापन भएपछि यात्रा मकवानपुरको मनहरीमा सभा गर्दै चितवन तर्फ प्रस्थान गरेको थियो ।
चितवनको टाँडी, भरतपुर, नारायणगढमा कोणसभा भएको थियो भने नवलपुरको गैडाकोट, कावासोतीमा संक्षिप्त सभा भएको थियो ।
राप्रपाले सनातन हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था बारे गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रह, भ्रष्टाचारको अन्त्य, ०४७ सालपछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने, विद्यमान आरक्षणको व्यवस्थामा सुधार गरि आर्थिक रुपमा विपन्नलाई आरक्षणको व्यवस्था गरिनुपर्ने लगायतका २२ बुँदे मागका पक्षमा जनमत सिर्जना गर्न राष्ट्रिय स्वाभिमान यात्रा गरेको हो ।
यात्रा सुदुर पश्चिमको कञ्चनपुर पुगी फागुन ३० गते काठमाडौंमा कलश यात्रा र आमसभा गर्दै सम्पन्न हुने श्रेष्ठले बताए ।