काठमाडौं । गत पुसदेखि देश दौडाहमा सक्रिय रहनु भएका राजा ज्ञानेन्द्र विक्रम शाह आगामी २२ गते बुधबार प्रदेश नम्वर दुईका तराईका केही जिल्लामा रहेका विभिन्न मठ मन्दिर तथा शक्तिपीठको दर्शनका लागि भ्रमणमा जाने हुनु भएको छ ।
राजाको उक्त भ्रमणका बारेमा गत शुक्रबार नै उहाँका संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिएपनि भ्रमणको तालिका भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।
डा पाठकका अनुसार केही समयदेखि झापमा रहनु भएका राजा ज्ञानेन्द्र आगामी २२ गते बुधबारदेखि प्रदेश नम्वर २ का धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्नु हुने छ ।
त्यहाँ रहँदा राजाले धनुषाको जनकपुरधामस्थित सीताशरण होटललाई आफ्नो मुकाम बनाउनु हुनेछ र त्यहींबाट विभिन्न जिल्लाहरुको भ्रमणमा जानु हुनेछ ।
जसअनुसार २३ गते राजाले सर्लाहीको मलंगवास्थित शिवमन्दिरमा पूजापाठ तथा दर्शन गर्नु हुनेछ भने सोही दिन पुनः जनकपुर फिर्ता भएर अर्को दिन २४ गते रामजानकी मन्दिरमा दर्शन तथा पूजापाठ गर्नु हुनेछ । यसैगरी २५ गते उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरमा दर्शन तथा पूजापाठ गरेर पुनः जनकपुर फर्कनु हुनेछ ।
त्यस्तै गरी २६ गते जनकपुरबाट सप्तरी पुगेर राजविराजस्थित छिन्नमस्ता देवीको मन्दिरमा आराधना तथा तथा पूजापाठ गरी भने राजा ज्ञानेन्द्र झापा फर्किर्ने कार्यक्रम तय गरिएको छ ।
प्रायः देश दौडाहका क्रममा विभिन्न मठ मन्दिर तथा शक्तिपीठमा रानी कोमलसाथ जाने गरेका राजा भने यस पटक एक नीजि सचिव र आफ्नो सुरक्षा अंगका साथ मात्रै जानु हुनेछ । रानी कोमल छोरा (युवराज) पारश एक्कासी विरामी भएपछि यसअघि झापाबाट काठमाडौं पुगेर पुनः सिमरा हुँदै झापा फर्किनु भई हाल पुनः तीन दिन अघि मात्रै काठमाडौं फिर्ता भईसक्नु भएको छ । त्यसैले राजा ज्ञानेन्द्र ती जिल्लामा रहेका विभिन्न मठ मन्दिर तथा शक्तिपीठमा एक्लै दर्शन, पूजापाठ तथा आराधना गर्नु हुनेछ ।
यसरी विभिन्न मठ मन्दिर तथा शक्तिपीठमा दर्शन, पूजापाठ तथा आराधना गर्ने क्रममा देश दौडाहमा राजा ज्ञानेन्द्रले आम नेपाली जनताले सुनाउने पीरमर्का र गुनासालाई गम्भीर रुपमा सुन्दै आउनु भएको छ । ती गुनासाहरुलाई विभिन्न समयमा देशवासीका नाममा दिने सम्बोधन मार्फत सरकारलाई सचेत गराउँदै आउनु भएको छ।
यस्तो देशदौडाहमा राजा जाँदा देखिन्ने जनलहर र उहाँले दिने सन्देशप्रति राजनीतिक दलका केही नेताहरुले टिप्पणी समेत गर्ने गरेका पाइन्छ ।