काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस देशरभर आज सोमबार मनाउने तयारी गरेको छ । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको नेपाली सेनाले जनाएको छ ।
सो अवसरमा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा आयोजना हुने उक्त विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
सैनिक मञ्चमा नेपाली सेनाले परेड र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी याम प्रसाद ढकालले बताए । उनका अनुसार सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
यसैगरी सो अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्ने गण र गुल्मलाई पुरस्कार तथा नयाँ गण र गुल्मलाई निशान प्रदान गर्नेछन् । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने प्रवक्ता ढकालको भनाई छ ।
नेपाली सेनाले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाकै वीरताका कारण अङ्ग्रेजको दबदबा रहेको अवस्थामा दक्षिण एशियामा नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो ।
वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि शुरु भएकामा हालसम्म एक लाख २५ हजार ३७२ सैनिकबाट योगदान भइसकेको छ ।
विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६३ जना सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ जना सैनिक घाइते भएका छन् । संयुक्त राष्ट्र सङ्घमार्फत विश्वमा हाल खडा भएका १२ शान्ति स्थापना मिसनमा अहिले नेपाली सेनाका पाँच हजार १११ सकल दर्जा खटिएका छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटिमा नेपाल पाचौं स्थानमा छ ।
सैनिक र हातहतियार उत्पादन र प्रयोगको दृष्टिले विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागिसमेत अहिले नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशालाको केन्द्र बन्दै गएको छ । वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा अहिले छिमेकीसहित विश्वका कयौ मुलुकका सैनिकमा सहभागी हुँदै आएका छन् ।
विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । राष्ट्रिय सुरक्षाका अतिरिक्त नेपाली सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ ।
दरबार, सङ्ग्राहालयलगायत ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले अहिले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।