झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा बढ्दै रहेको धर्म परिवर्तन नरोकिए धार्मिक द्वन्द निश्चित भएको बताएका छन् ।
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा रहेको राप्रपाको आज झापाको विर्तामोडमा भएको शक्ति प्रदर्शन सभा बोल्दै अध्यक्ष थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हामीले हिन्दु राष्ट्र गुमायौं, राजसंस्था गुमायौं, फेरि विद्रोहको कुरा अस्विकार्य भन्दै देशले हिन्दु राष्ट्र र राजा चाहेको बताएका थिए ।
थापाले भने "राजसंस्था र हिन्दु राष्ट्र फालेर देशले के पायो ? जनताले के पाए ? परिवर्तनले जनतालाई केही दिन सकेन अब पुनर्विचार गर्ने बेला भयो, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आमसञ्चारले यसबारे बहस प्रारम्भ गर्नुपर्छ ।"

थापा भन्छन् "राणाहरु आए गए, पञ्चायत आयो गयो, बहुदल आयो गयो, विगतका कुनै खराब अवस्थामा पनि राष्ट्र विखण्डनको आवाज कहिल्यै उठेको थिएन तर राष्ट्रवादी छविका कारण दुई तिहाइ मत सहितको प्रधानमन्त्री हुनु भएका प्रधानमन्त्री केपी ओलीलाई म प्रश्न गर्न चाहन्छु- "तपाई यति लाचार किन बनिरहनु भएको छ ? तपाईसंग विगतमा संगै काम गरेको छु, यस्तो निरीह त हुनुहुन्थेन, अहिले कुन शक्तिले तपाईलाई रोकिरहेको छ ?"
०६२/६३ को परिवर्तन पछि जबर्जस्ती धर्म परिवर्तन गराइएको छ, हिन्दु बौद्ध किराँत समुदाय धर्म परिवर्तनको निशानामा परेका छन् र धर्म परिवर्तनको नरोकिए हिन्दु बौद्धिष्ट किराँत अल्पमतमा पर्ने, देश धार्मिक द्वन्द्वमा फस्ने खतरा भनेको थापाको दावी छ ।
थापाले १२ वर्षको अवस्थालाइ दृष्टिगत गर्दै परम्परागत शक्ति र परिवर्तनकारी शक्तिका बीचमा सामन्जस्य कायम गरिनु पर्ने बताएका छन् ।

देश अभिभावकविहिन भएको छ, राजा देखि सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गर्न थापाले सबैलाई आग्रह समेत गरेका छन् ।
त्यसैगरी संघीयता मुलुकले थेग्न नसक्ने देखियो, जनताको प्रत्यक्ष अभिमत बिना लागू गरिएको संघीयता बारे जनमत संग्रह गरिनुपर्छ, दोहोरो तेहोरो करबाट जनतालाई मुक्ति दिलाउन अबिलम्ब पहल गर्न समेत अध्यक्ष थापाले माग गरेका छन् ।
हिजो ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको दोश्रो दिन आज यात्रा झापा आइपुगेको हो । राप्रपाले आज झापामा वृहत् शक्ति प्रदर्शन गर्दै सभा गरेको छ । सभामा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, नेताहरू बुद्धिमान तामाङ, राजीब पराजुली, टंक ढकाल, राजेन्द्र लिङ्देन, राम थापा लगायतले अभियानको उद्देश्य, औचित्यका बारे धारणा राख्नु भएको थियो ।