काठमाडौँ, माघ २६ गते । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटीसहित बाँकी सबै विषयमा टुङ्गो लगाइने भएको छ । उक्त विमानस्थल निर्माणका विभिन्न पक्षबाट फरक फरक प्रस्ताव प्राप्त भइरहेकोले सरकार अहिले त्यसको अध्ययनको क्रममा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
नेपाल इन्जिनियर्स एसोसिएसनले शुक्रबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता र औचित्यका विषयमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले यो विमानस्थल मन्त्रालयको सबैभन्दा धेरै प्राथमिकतामा रहेकोले निर्माण प्रक्रियालाई गति दिनेतर्फ काम भइरहेको बताउनुभयो । ‘विश्वासिलो आधार आयो भने जीटूजीमा जान्छौँ आएन भने हामी आफैँ भए पनि बनाउँछौँ’ उहाँले भन्नुभयो ‘अहिले दोस्रो चरणको छलफलमा छौँ तीन महिनाको आसपासमा स्पष्ट भएर जान्छौँ । ’
मन्त्री अधिकारीका अनुसार निजगढमा विमानस्थल निर्माणका लागि ४५ देशले चासो देखाएका छन् । पछिल्लो समय कतारले उक्त विमानस्थल निर्माणको प्रस्ताव गरेको विषय पनि बाहिर आएको छ । यसबाहेक कतिपय निर्माणकर्ताले पनि छुट्टाछुट्टै प्रस्ताव गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘कतिपयले निजगढमात्र नभएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि सँगै बनाउँछौँ भनेर प्याकेजमा समेत प्रस्ताव गरेका छन्’ उहाँले भन्नुभयो । निर्माणकर्ता भित्रिन सक्ने सर्तका विकल्प खुला राख्ने सन्दर्भमा एयरपोर्ट सिटी पनि विस्तृत सम्भाव्यता अध्ययनमा समेटिएको उहाँले बताउनुभयो ।
चार महिनामा निजगढका सन्दर्भमा धेरै काम भए पनि रुख काट्ने विषयलाई लिएर यसमा अनावश्यक विवाद ल्याउँदा पछिल्लो समय गति कम भएको उहाँले बताउनुभयो । दिगो विकासको नीति अनुसार नै वातावरणमैत्री भएर नै निजगढ बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । निजगढ देशकै मुख्य परियोजना भएकोले यसको विकास गर्न नसके जति वातावरणको कुरा गरेपछि देश अघि भने बढ्न नसक्ने उहाँले बताउनुभयो । ‘मुख्य पूर्वाधारलाई रोकेर देश अघि जानै सक्दैन’ उहाँले भन्नुभयो ।
मन्त्रालय पछिल्लो समय यस्ता आयोजनाको कानुन र व्यवस्थाका सन्दर्भमा काम गरिरहेको र विकल्पको खोजी गरी निर्माणलाई अघि बढाउने सन्दर्भमा लागेको उहाँले जानकारी दिनुभयो । निजगढका लागि आफू जस्तोसुकै चुनौती सामना गर्न पनि तयार भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विमानस्थलले अहिले नै क्षमताभन्दा बढी यात्रुलाई सेवा दिइरहेकोले निजगढमा विमानस्थल निर्माण अति आवश्यक भइसकेको बताउनुभयो । सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुविधा र व्यवस्था नभएकोले पनि देशमा अर्को ठूलो विमानस्थल सञ्चालनमा आउनु औचित्यपूर्ण रहेको उहाँको कार्यपत्रमा उल्लेख थियो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले ११औँ वार्षिक योजना तयार गर्ने बेलामा नै निजगढमै विमानस्थल बनाउने टुङ्गो लागेको जानकारी दिनुभयो । विमानस्थल निर्माणका सन्दर्भमा उठेका आशङ्कालाई स्पष्ट पारेर बाँकी सबै विषय पारदर्शी रूपमा अघि बढाउनुपर्ने उहाँको सुझाव थियो । त्यस्तै प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले विभिन्न आठओटा स्थानको अध्ययनपछि निजगढमै निर्माणको निर्णय भएको र यो जति राम्रो ठाउँ हुनै नसक्ने दाबी गर्नुभयो । निर्माण पूर्वका कतिपय काम गर्न रुख काट्नै पर्ने र सर्लाहीमा रहेको खाली ठाउँमा रुख रोप्न सकिने उहाँले बताउनुभयो ।
इन्जिनियर डा. सूर्यराज आचार्यले विमानस्थल जस्तो विषय सरकारको स्वामित्व हुने भएकाले हचुवाका भरमा निजी क्षेत्रलाई दिन हतार गर्न नहुने सुझाव दिनुभयो । निजगढका सन्दर्भमा रणनीतिक वातावरण प्रभाव मूल्याङ्कन तयार गरेर अघि बढ्नु उपयुक्त हुने उहाँले बताउनुभयो । वातावरणविद् डा. शिला अधिकारीले विमानस्थल निर्माणका क्रममा त्यहाँको वातावरणीय मुद्दा र वन्यजन्तु संरक्षणको विषयलाई नकार्न नहुने बताउनुभयो ।