सरकारले शुरु गरेको एक कार्यक्रम अन्तर्गत शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार जितेका छन् ।
हालै शुरु गरिएको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक भएसंगै अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् ।
१० लाख रुपैयाँको पुरस्कार जित्ने विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो । आन्तरिक राजश्व विभागले आज अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर उपहार विजेताबारे जानकारी दिएको हो ।
करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा करदाता प्रोत्साहन कार्यक्रम ल्याएको थियो । यसको पहिलो घोषणा आज (शुक्रबार) गरिएको हो । सरकाले हरेक १५ दिन १५ जनालाई १/१ लाख र एक जनालाई बम्पर पुरस्कार १० लाख दिने गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएको छ ।
उपहार कसले जित्यो भन्ने जानकारी दिनका लागि prize.ird.gov.np नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । यो कार्यक्रममा सहभागी हुन नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने सक्कली बिल लिएका उपभोक्ता योग्य हुन्छन् । उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्छन् ।
क्यूआर मार्फत गरिने कारोबारमा भने प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले बिल इन्ट्री गर्नुनपर्ने विभागले जनाएको छ । बैंक तथा वालेटको क्यूआर मार्फत रु.१०० भन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले पनि पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि पेश गरेको खण्डमा योग्य हुने ब्यक्वाथा गरिएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । यस्तो पुरस्कार सम्बन्धि कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टी गरेर रु. १ लाख नगद र हरेक १५–१५ दिनमा बम्पर उपहारस्वरूप रु. १० लाख नगद प्रदान गर्ने सरकारी योजना रहेको देखिन्छ ।