काठमाडौं । दशैंको फूलपातीका दिन असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १९ सेकेन्डको ट्रेलरले दर्शकलाई देशभक्ति, सामाजिक सन्देश र रोमाञ्चक एक्सनको मिश्रणमा नयाँ अनुभव दिने संकेत गरेको छ ।
नायक समीर भट्ट मुख्य भूमिकामा देखिएका छन्, जसले आमाको अस्मिता र मातृभूमिको रक्षा गर्न सर्वशक्तिले लड्ने वचन दिएका छन् । “मेरो शरीरको एक–एक थोपा रगत माग दिन्छु, तर आमाको विषयमा केही भनिस् भने काटिदिन्छु,” भन्ने संवादले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ । फिल्मको सुरुवातमै अभिनेत्री ऋचा शर्मा आमाको संवेदनशील भूमिकामा देखिएकी छन् ।
अर्पण थापा भ्रष्ट नेताको भूमिकामा प्रस्तुत छन् भने सौगात मल्ल, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीले पनि आफ्नो अभिनयले फिल्मलाई थप बलियो बनाएका छन् ।
दक्षिण भारतीय शैलीको आकर्षक एक्सन कोरियोग्राफी, भारतमै सम्पन्न पोस्ट–प्रोडक्सन र दमदार संवादले ‘बलिदान’ लाई फरक स्तरमा उकासेको देखिन्छ । यसले राजनीतिक भ्रष्टाचार र सामाजिक अन्यायविरुद्धको लडाइँलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । दशैंको माहोलमा आउने ‘बलिदान’ ले देशभक्ति र भावनात्मक कथा मन पराउने दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।