काठमाडौँ । चीनले नेपालको मुस्ताङमा रहेको कोरला नाकालाई पहिलो पटक वर्षभर सञ्चालन गर्न सहजता प्रदान गरेको छ ।
यसअघि कुनै सरकारले पहल नगरेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीको पालामा चीनले यो ऐतिहासिक सुविधा दिएको हो ।
चीनसँगका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी दुवै बाढीपहिरोका कारण ठप्प भएपछि नेपाल राष्ट्र बैंकले कोरला नाकाबाट आयात हुने वस्तुका लागि पनि एलसी (प्रतीतपत्र) सुविधा दिने निर्णय गरेको छ । यसअघि यो सुविधा केवल तातोपानी र रसुवा भन्सारमै सीमित थियो ।
गत असार २३ गते आएको बाढीले रसुवा भन्सार क्षतिग्रस्त बनाएको थियो भने तातोपानी नाका पनि साउनको अन्त्यतिर पहिरोले अवरुद्ध भएको छ । त्यसपछि वैकल्पिक रूपमा हेरिएको कोरला नाका अहिले नियमित व्यापारिक केन्द्रका रूपमा परिचित बन्दै गएको छ ।
हालसम्म चीनको नेचुङ–लिजी बजारबाट १५१ विद्युतीय गाडी र ६५ कन्टेनर सामान कोरला भन्सारमार्फत नेपाल भित्रिएका छन् । भन्सार कार्यालयका अनुसार यसै दशैँअगाडि थप करिब पाँच सय विद्युतीय गाडी भित्रिनेछन् । यससँगै स्थानीय व्यापारी र उपल्लो मुस्ताङवासी उत्साहित भएका छन् ।
नेपालतर्फबाट भने मूर्ति, मुढा, नेपाली ब्रान्डका ज्याकेटसहित घरायसी सामग्री दुई ट्रक निर्यात भएको छ । उता चीनतर्फबाट लत्ताकपडा, चप्पललगायत तयारी सामान भन्सारमार्फत चेकजाँच भई नेपाल भित्रिएको छ ।
विद्युतीय गाडीको बढ्दो आयातसँगै नाकामा चार्जिङ स्टेसन निर्माण र गण्डकी प्रदेशको जीवनरेखा मानिएको बेनी–जोमसोम–कोरला सडकलाई सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
यसअघि बाढीले ठप्प भएका रसुवागढी र तातोपानी नाका सञ्चालनमा तत्कालीन ओली सरकारले कुनै पहल नगरेको चिनियाँ पक्षको भनाई छ । अब तीनवटै नाका सहजपूर्वक सञ्चालन गर्न तीव्रता दिइएको छ ।
मुस्ताङमा पहिलो पटक व्यापारिक कन्टेनरहरूको भिड देखिएसँगै कोरला नाका अब नेपाल–चीन व्यापारका लागि नयाँ विकल्प मात्र नभई नियमित प्रवेशद्वार बन्दै गएको छ ।