काठमाडौं । आर्टमाण्डुको फिल्म ‘ऊनको स्वीटर’पछि बक्स अफिसमा कुनै पनि नेपाली फिल्मले जादू चलाउन सकेका छैनन् ।
त्यसै पनि असार महिनालाई फिल्म रिलिजका लागि ‘अफ सिजन’ जस्तै मानिन्छ । मध्यवर्षायाम र धान रोपाइँको महिना भएकाले दर्शक हलसम्म आउँदैनन् भन्ने पहिलेदेखिकै मान्यता छ ।
सहरी जनसंख्या बढिरहेको अहिलेको समयमा यो कति सान्दर्भिक हुन्छ, बेग्लै बहसको विषय होला । तर पनि असार महिना नेपाली बक्स अफिसका लागि सुनसानजस्तै रह्यो । असारको अन्तिम साता अर्थात् असार २७ मा एक मात्र फिल्म प्रदर्शनमा आयो( ‘यो मन त मेरो नेपाली हो’ । तर यो फिल्मले बक्स अफिसमा सफलता पाउन सकेन ।
असार सुनसान भए पनि साउनमा भने नेपाली फिल्मको माहोल जुर्मुराउने संकेत देखिएको छ । यस महिना दर्शकले पर्दामा फरक(फरक कथाका तीन नयाँ नेपाली फिल्म हेर्न पाउनेछन् । ‘रियल रिङ्गेट’, ‘सिटामोल’ र ‘मोहर’ । यीमध्ये ‘रियल रिङ्गेट’ साउन १६ गतेबाट प्रदर्शनको तयारीमा छ भने ‘सिटामोल’ र ‘मोहर’ साउन २३ गते एकअर्कासँग भिड्ने तयारीमा छन् । एकै मितिमा भिड्न लागेका यी दुवै फिल्मकी मुख्य पात्र हुन् बेनिशा हमाल ।
साउन १६ गतेबाट रिलिज हुने फिल्म ‘रियाल रिङ्गेट’ले वैदेशिक रोजगारीको कथा भन्छ । वैदेशिक रोजगारी लहर र विदेशमा नेपाली श्रमिकले भोग्ने पीडालाई फिल्मले उठाएको छ । फिल्मका निर्देशक विभोर पोखरेल हुन् ।
सपनाको भारी बोकेर विदेशिएका युवाहरूको सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने धोका र यातनाको कथा फिल्मले मर्मस्पर्शी ढंगले पस्किने कोसिस गरेको निर्देशक पोखरेल बताउँछन् । फिल्मले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा पाटालाई उजागर गर्ने प्रयास गर्नेछ ।
फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतको अभिनय छ । फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।
गगनलाल प्रधान निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन र राजीव समरको कोरियोग्राफी छ । फिल्मका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दनध्वज केसीले संगीत दिएका छन् ।
‘सिटामोल’ले माओवादी जनयुद्धले समाजमा छोडेको घाउ र त्यसको असरको कथा भन्छ । ‘मोहर’ले सुदूरपश्चिममा व्याप्त कुरीति देउकी प्रथालाई पर्दामा उतारेको छ ।
संयोग यी दुवै फिल्मकी हिरोइन बेनिशा हमाल छिन् । फिल्म पनि एकै मितिमा रिलिज हुँदैछिन् ।
‘सिटामोल’मा बेनिशाका साथै सौगात मल्ल, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
तुलसीदेवी फिल्म प्रालिले जूनतारा फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका छन् । फिल्ममा भूगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन् । गंगाराम श्रेष्ठ सहनिर्माता हुन् ।
‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बालकलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन् । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत छ ।
फिल्मको प्रचार सामग्रीमा अभिनेता पल शाह दुई फरक गेटअपमा प्रस्तुत गरिएकाले उनको दोहोरो भूमिका हुनसक्न अनमान गर्न सकिन्छ ।