काठमाडौँ । यतिबेला गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारी सामाजिक सञ्जालमा आपराधिक र अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूविरुद्ध खुला रुपमा उत्रिएका छन्।
उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुग्ने गरी अश्लील, छुद्र र निजी जीवनमा असर पार्ने खालका कमेन्ट तथा सन्देश गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सामाजिक सञ्जालमै सार्वजनिक गरिरहेका छन्।
अपाच्य शब्द प्रयोग गर्दै असहिष्णु व्यवहार देखाउने प्रयोगकर्ताहरूलाई एकपछि अर्को गर्दै सञ्जालमै सार्वजनिक गरिएपछि केही प्रयोगकर्ताले उनीहरूसँग माफीसमेत मागेका छन्। चौहान र अधिकारीले माफी मागिएको कुराको जानकारी पनि सामाजिक सञ्जालबाटै दिएका छन्।
यसअघि अभिनेत्री ऋचा शर्माले पनि आफूमाथि अभद्र गाली गरिएको भन्दै त्यसको स्क्रिनसटसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। त्यस्तै, टिकटक जोडी प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध अमर्यादित टिप्पणी गर्नेको फेसबुक आइडी सार्वजनिक गरेका थिए।
कलाकारहरूका अनुसार यस्तो व्यवहारले व्यक्तिगत तथा व्यावसायिक जीवनमा मात्र होइन, मानसिक स्वास्थ्यमा समेत असर पुर्याइरहेको छ। यस्ता आपराधिक प्रवृत्तिविरुद्ध कानुनी उपचारभन्दा अघि सञ्जालमै प्रतिकार गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
यो शैली खासगरी दक्षिण एसियाबाट भित्रिएको सामाजिक सञ्जाल विश्लेषकहरू बताउँछन्।
इन्डिया र आसपासका मुलुकहरूमा महिला तथा बालबालिकामाथि साइबर हिंसा र घृणाजन्य अभिव्यक्ति दिने प्रचलन व्यापक छ।
इन्डियामा कैयौँ सेलिब्रेटीहरू यस्ता टिप्पणीका कारण सामाजिक सञ्जाल निजी बनाएर सञ्चालन गर्न बाध्य छन्। सामान्य युवती तथा किशोरीहरूसमेत ढुक्कले सञ्जाल प्रयोग गर्न सक्दैनन्, कारण पुरुष समुदायबाट हुने आक्रामक टिप्पणी र साइबर आक्रमणहरू।
नेपालमा पछिल्लो समय त्यही इन्डियन शैली, संगत र आपराधिक कक्षा सामाजिक सञ्जालमार्फत भित्रिएको विज्ञहरू बताउँछन्।
यस्तो प्रवृत्ति कसरी भित्रियो र यसको संरचना कस्तो छ भन्नेबारेमा राज्यले गम्भीर अनुसन्धान गरी नागरिकलाई सुसूचित गर्नु आजको आवश्यकता बनेको छ।