काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पाकिस्तानलाई माया गर्ने बताएका छन्।
ट्रम्पको यो भनाई बाहिर आएसँगै इन्डियाले अमेरिकासँग निकट हुन वार्ता सुरु गरेको छ ।
बुधबार ह्वाइट हाउसबाहिर ट्रम्पले पत्रकारहरूसँग फेरि एकपटक आफूले इन्डिया–पाकिस्तान युद्ध रोकेको दाबी गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका हुन्।
ट्रम्पले भने, ‘मैले पाकिस्तानको युद्ध रोकेको छु। म पाकिस्तालाई माया गर्छु।’
यस्तै उनले इन्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीबारे भने, ‘मोदी एक अद्भूत व्यक्ति हुन्।’
ट्रम्पले बुधबार मोदीसँग कुरा गरेको जानकारी दिँदै अब भारतसँग व्यापार सम्झौता गर्न सकिने जानकारी पनि दिए।
बुधबार ट्रम्प र मोदीबीच फोनवार्ता भएको थियो।
ट्रम्पसँग के के भने मोदीले?
इन्डियाका विदेश सचिव विक्रम मिश्रीले भने, ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई स्पष्ट रूपमा भन्नुभयो– यो सम्पूर्ण घटनाका दौरान इन्डिया–कुनै पनि तहमा अमेरिका व्यापार सम्झौता वा इन्डिया र पाकिस्तानबीच अमेरिकाको मध्यस्थताजस्ता विषयमा कुनै छलफल भएन।’
गत मे १० मा इन्डिया र पाकिस्तानबीच युद्धविराम हुँदा अमेरिकाका राष्ट्रपति ट्रम्पले आफ्नै मध्यस्थतामा यो सम्भव भएको दाबी गरिरहेका छन्।तर इन्डियाले त्यसलाई अस्वीकार गरिरहेको छ।
मिश्रीले भने, ‘सैन्य कारबाही रोक्ने वार्ता इन्डिया र पाकिस्तानका दुई सेनाबीच स्थापित विद्यमान च्यानलमार्फत प्रत्यक्ष रूपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा गरिएको थियो। प्रधानमन्त्री मोदीले जोड दिनुभयो– इन्डियाले कहिल्यै मध्यस्थता स्वीकार गरेको छैन, गर्दैन र कहिल्यै गर्ने पनि छैन। यस मुद्दामा इन्डियामा राजनीतिक एकमत छ।’
विक्रम मिश्रीले थपे, ‘राष्ट्रपतिले प्रधानमन्त्रीले विस्तारमा राखेका कुरालाई मनन गर्नुभयो र आतंकवादविरुद्ध इन्डियाको लडाइँलाई समर्थन व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले यो पनि भन्नुभयो– इन्डियाले अब आतंकवादलाई छद् युद्धका रूपमा होइन, युद्धका रूपमा हेर्छ। इन्डियाको अपरेसन सिन्दूर अझै जारी छ।’
इन्डियाले आतंकवाद निर्मूल गर्ने नाममा धार्मिक विखण्डन सुरु गरेको, कुनै एक धर्मको पक्षपोषण गरेको र दक्षिण एसियामा सद्भाव भड्काउने जस्ता गतिविधि उत्पादन गरेको विभिन्न तहबाट बहसहरु सृजना भइरहेका छन् ।
–एजेन्सी