काठमाडौँ । विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मध्ये एक मिस सुप्रानेशनल–२०२५ यही जेष्ठ २७ देखि असार १३ सम्म पोल्याण्डको मालोपोल्स्कामा भव्य रूपमा आयोजना हुँदैछ।
यस प्रतियोगिताको १६औँ संस्करणमा संसारभरका ७२ देशका सुन्दरीहरू प्रतिस्पर्धामा उत्रिनेछन्। नेपालबाट मिस सुप्रानेशनल नेपाल–२०२५ का रुपमा दीक्षा अवस्थी सहभागी हुँदैछिन्।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य कार्यक्रमहरू पोल्याण्डको नाओसास क्षेत्रमा हुने बताइएको छ ।
प्रतियोगीहरू आज जेष्ठ २७ गते पोल्याण्ड प्रवेश गरी, संस्कृति आदानप्रदान, सामाजिक सेवा कार्य, फोटो सेसन, पूर्वाभ्यास लगायतका कार्यक्रममा संलग्न हुनेछन्।
मुख्य प्रतिस्पर्धा तथा ग्रान्ड फिनाले भने असार १३ अर्थात जुन २७ मा हुनेछ, जहाँ २०२४ की विजेता हराष्टा हैफा जाह्रा (इन्डोनेशिया) ले नयाँ मिस सुप्रानेशनललाई ताज हस्तान्तरण गर्नेछिन्।
प्रतिस्पर्धामा इन्डोनेशिया (फिस्र्टा युफी), भेनेजुएला, फिलिपिन्स, क्यानडा, जर्मनी लगायतका चर्चित राष्ट्रका प्रतिस्पर्धीहरूलाई उच्च दाबेदार मानिएको छ।
नेपालको सहभागीता र प्रदर्शन पनि अब्बल रहने दीक्षा अवस्थीले जनाएकी छिन् । उनीमा बिजेता हुनेमा आत्मविश्वास देखिन्छ ।
यस वर्षको प्रतियोगिता डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल भोटिङ मार्फत पनि हुने सम्भावना रहेको छ ।
आज मंगलबार संसारभरका तन्नेरीहरुको ध्यान पोल्याण्डमा हुन गइरहेको मिस सुप्रानेसनल–२०२५ प्रतियोगिता तर्फ खिचिरहेको छ ।
–एजेन्सी