बंगलादेश । बंगलादेशको अन्तरिम सरकारले शनिबार पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि पूर्णप्रतिबन्ध लगाएको छ ।
आतंकवादविरोधी ऐन अन्तर्गत अवामी लिग र यसको नेतृत्वका विरुद्ध अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आइसीटी)को मुद्दा नसकिएसम्म साइबरस्पेस र अन्यत्र गरिने सबै गतिविधिमा प्रतिबन्ध लगाएको बंगलादेश सरकारले जारी विज्ञप्तिमा जनाइएको छ ।
“यो निर्णय राष्ट्रिय सुरक्षाको सुनिश्चितता, जुलाई आन्दोलनका कार्यकर्ताहरूको सुरक्षा, र ट्रिब्युनलका मुद्दामा संलग्न वादी र साक्षीहरूको सुरक्षाका लागि गरिएको हो,“ विशेष सल्लाहकार परिषद्को शनिबार रातिको बैठकपछि कानुन सल्लाहकार प्रा. आसिफ नजरुलले पत्रकारहरुलाई जानकारी दिए।
बंगलादेशको समाचार पोर्टल डेली सनका अनुसार, अन्तरिम सरकारका प्रमूख सल्लाहकार प्रा. मोहम्मद यूनुसको अध्यक्षतामा बसेको विशेष सल्लाहकार परिषद्को उक्त बैठकले १९७३ को अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल ऐनमा संशोधनलाई पनि स्वीकृति दिएको कानुन सल्लाहकार नजरुलले बताए। अब अवामी लिग पार्टी बंगलादेशमा आतंककारी समुह सरह हुनेछ ।
‘अब ट्रिब्युनलले अवामी लिग, तिनका सम्बद्ध संस्था वा समर्थन समूहहरूलाई सजाय दिन सक्ने अधिकार पाउनेछ,’ नजरुलले जानकारी दिए ।
साथै, सल्लाहकार परिषद्ले आगामी ३० कार्यदिनभित्र ’जुलाई घोषणापत्र’ अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय पनि गरेको छ।
बंगलादेशमा जातीय र धार्मिक आतंकको जग बसालेको भन्दै केहीदिनदेखि विभिन्न शहरहरुमा अवामी लिग विरुद्ध प्रदर्शन भइरहेका थिए । सम्पूर्ण दलहरुको एकमतले पछिल्ला दिनहरूमा अवामी लिगलाई प्रतिबन्ध लगाउन माग गरेकोले सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको युवा मन्त्रीहरुले जनाएका छन् ।
आईसीटीको मुद्दा नसकिएसम्म अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध ।
राजनीतिक दल, तिनका सम्बद्ध संस्था वा समर्थन समूहहरूलाई सजाय दिन पाउने अधिकार अब अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आइसीटी) लाई प्रदान ।
अवामी लिगमाथि प्रतिबन्धको घोषणापछि बंगलादेशमा राति नै लाखौं मानिसहरु सडकमा आएर विजयी जुलुश निकालेका थिए । जमात–ए–इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी) लगायत सबै राजनीतिक दलहरूले विजय जुलुस निकालेर खुशाीयाली प्रकट गरेका थिए ।
एनसीपी दलका संयोजक नाहिद इस्लामले आफ्नो फेसबुक पेजमा सरकारले लिएको सबै निर्णयहरू चाँडो कार्यान्वयन गर्न माग गरेका छन् । अवामी लिगमाथि कारवाहीहोस र आतंककारी सरह सबै काम सरकारले तुरुन्त लागु गरोस भनेर नाहिदले माग गरेका छन् । अब बंगलादेशमा सबै खुल्ला विचार राख्ने जनताको आमनिर्वाचन हुनुपर्छ, उनले भनेका छन् ।
यसअघि केहीदिनदेखि लगातार राजधानी ढाकाभरी लाखौं नागरिक अवामी लिगलाई आतङ्ककारी संगठन घोषणा गरी स्थायी रूपमा प्रतिबन्ध लगाउन माग गरेका थिए । शनिबार पनि लाखौंको भीड ढाकामा उत्रेको थियो ।
प्रदर्शनकारीहरूले शनिबार बेलुकासम्म अवामी लिगलाई आतङ्ककारी संगठन घोषणा गर्न र त्यसको २४ घन्टाभित्र प्रतिबन्ध लगाउन माग गरेपछि सरकारले आन्दोनकारीकै माग बमोजिम निर्णय गरिदिएको थियो ।
प्रदर्शनकारीहरुले माग पूरा नभए अन्तरिम सरकारका प्रमूख सल्लाहकार युनुसको सरकारी निवास घेर्न जाने भनेपछि सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो ।
बंगलादेशमा इन्डियाको मोदी सरकारको आडमा अवामी लिगले जातीय र धार्मिक राजनीति गरेर सन २०१३ देखि नै अत्याचार गरेको आन्दोलनकारी सबै दलहरुले आरोप लगाइरहेका छन् ।
वर्तमान यूनुस सरकारले बहुसंख्यक बंगलादेशी जनताको भावनालाई कदर गर्दै अवामी लिगमाथि प्रतिबन्ध घोषणा गरिएको बंगलादेशका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
एजेन्सी