काठमाडौँ । इन्डिया र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। तर, यो तनावलाई दुबै तर्फका मिडियाले भने आतंक नै सृजना गरिरहेका छन् ।
बिहीबार दुवै देशले एक–अर्काविरुद्ध कारबाहीको दाबी गरेका छन्।
बिहीबार रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा सर्वदलीय बैठकपछि केन्द्रीय मन्त्री किरेन रिजिजुले भने, “अप्रेशन सिन्दूर जारी अभियान हो।“
त्यसपछि बिहीबार राति इन्डियाले जनाएको छ कि जम्मु, पठानकोट र उधमपुरका मिलिटरी स्टेसनहरूमा पाकिस्तानले आक्रमण गरेको छ, जसलाई निष्क्रिय पारिएको छ। पाकिस्तानका रक्षा मन्त्रीले हमलाको कुरा अस्वीकार गरेका छन्।
न अहिलेसम्म पाकिस्तानले आक्रमण गरेको बताएको छ न इन्डियाले कुनै जवाफी कारवाही । संचारमाध्यममा यसरी समाचार आयो कि मानौं दुबैतर्फ ठुलो क्षति भइरहेको छ ।
इन्डियाका जी न्यूज लगायत सबैजसो मुलधारका संचारमाध्यमले त पाकिस्तानका प्रधानमन्त्री बंकर भित्र लुकेको, राजधानी इस्लामावाद लगायत इन्डियाले कब्जा गरेको समाचार लगातार प्रशारण गरिरहेका थिए ।
इन्डियाको रक्षा मन्त्रालयले दाबी गरेको छ कि “विश्वसनीय सूचनाका अनुसार लाहौरमा एउटा एयर डिफेन्स सिस्टम नष्ट गरिएको छ।“
पाकिस्तानले दाबी गरेको छ कि उसले इन्डियाका २५ वटा ड्रोनहरू खसालेको छ। बीबीसीले ती दाबीहरूको पुष्टि गर्न सकेको छैन।
अहिलेसम्म विदेशी कुनै पनि मिडियाले यी सबै घटनाका प्रमाणहरु फेला पार्न सकेका छैनन् ।
इन्डिया–पाकिस्तानमा गरिबी ज्यादा, हुँकार अझ बढी
इन्डियामा धेरै गरिबी छ । पाकिस्तानमा पनि छ । युद्धले गरिबी परिवारलाई असर पर्छ । छिमेकी मुलुकहरु पनि गरीब छन् ।
मिडल इस्ट इन्साइट्स प्लेटफर्मकी संस्थापक डा. शुभदा चौधरी भन्छिन्, “यदि तपाईं हेर्नुहुन्छ भने इन्डिया र पाकिस्तानका छिमेकी देशहरूमा सामाजिक–आर्थिक रूपमा निम्न वर्गका मानिसहरू धेरै छन्। इन्डिया र पाकिस्तानबीच संघर्ष लामो समयसम्म चल्छ भने जसलाई यसको आर्थिक असर बढी पर्छ, तिनीहरूको संख्या धेरै ठूलो हुन्छ।“
शुभदा चौधरीले बताइन् कि यी सबै देशहरूको अर्थतन्त्र कोभिड महामारीपछि संघर्षमै छ, त्यसैले यस्ता देशहरूको लागि आर्थिक हितहरू बढी महत्त्वपूर्ण छन्।
उनी भन्छिन् कि इन्डिया र पाकिस्तानका छिमेकीहरू यो प्रयासमा छन् कि यो तनाव चाँडै अन्त्य होस्।
छिमेकी कुन देश कस्को पक्षमा ?
अफगानिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, म्यानमार र भुटानजस्ता छिमेकी देशहरूको लागि इन्डिया र पाकिस्तानबीच चलिरहेको तनाव धेरै अर्थहरूमा अत्यन्तै महत्त्वपूर्ण छ।
शुभदा चौधरी भन्छिन्, “यदि इन्डिया र पाकिस्तानबीच संघर्ष धेरै समयसम्म तानिन्छ भने फरक–फरक छिमेकीहरूमा यसको फरक असर पर्छ। नेपालबाट कुरा सुरु गरौं भने नेपालको इन्डियासँग ६० प्रतिशत व्यापार हुन्छ, त्यो प्रभावित हुन सक्छ। पोर्ट र व्यापारिक मार्गको मामिलामा नेपाललाई समस्या हुन सक्छ। नेपाल र इन्डियाबीच लामो सीमा छ र नेपाल चाहन्छ कि यो तनाव कम होस्, जबकि चीन यो स्थितिको फाइदा नेपालसँग सम्बन्ध अगाडि बढाउन गर्न सक्छ।“
उनी अनुसार यस्तै आर्थिक संकट भुटानमा पनि हुन सक्छ किनभने भारतको अर्थतन्त्रमा असर पर्यो भने त्यहाँको पर्यटन उद्योग पनि प्रभावित हुनेछ।
दक्षिण एसियाको भू–राजनीतिक जानकार र साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर धनञ्जय त्रिपाठी मान्दछन् कि इन्डिया–पाकिस्तानबीचको तनावमा अफगानिस्तानलाई छाडेर बाँकी देशहरू तटस्थ रहनेछन्।
उनी भन्छन् कि अन्य सबै छिमेकी देशहरू यस मामिलामा शान्त रहनेछन्।
धनञ्जय त्रिपाठी भन्छन्, “इन्डिया यो क्षेत्रमा ठूलो अर्थतन्त्र हो र साना छिमेकी देशहरू इन्डियासँग विभिन्न प्रकारका आर्थिक गतिविधिहरूमा जोडिएका छन्। श्रीलंका र नेपालजस्ता देशहरूको लागि पर्यटनबाट हुने आम्दानी धेरै महत्त्वपूर्ण छ र उनीहरू चाहन्छन् कि यो तनाव चाँडै अन्त्य होस्।“
इन्डिया र श्रीलंकाबीच स्वतन्त्र व्यापार सम्झौता छ र श्रीलंकाको हालको आर्थिक संकटको समयमा इन्डियाले उसलाई धेरै सहयोग गरेको छ। हालै प्रधानमन्त्री मोदीले श्रीलंकाको यात्रा पनि गरेका थिए।
धनञ्जय त्रिपाठी भन्छन् कि इन्डिया–पाकिस्तानबीच तनाव बढ्ने हो भने यी देशहरू चाहन्छन् कि दुवै देश वार्ताद्वारा यसको चाँडो समाधान गरून्।
विदेश मामिलाका जानकार क़मर आगा पनि यस कुरासँग सहमत देखिन्छन्। उनी भन्छन् कि छिमेकी देशहरूसँग इन्डियाको व्यापारिक सम्बन्ध छ।
क़मर आगा भन्छन्, “यदि संघर्ष बढ्छ भने यसले अर्थतन्त्रलाई असर पार्नेछ। किनभने युद्धको समयमा रक्षा खर्च बढ्छ र यसबाट रोजगारी पनि आउँदैन। यस्तो अवस्थामा बंगलादेशलाई ठूलो नोक्सान हुन सक्छ किनभने बंगलादेशको वर्तमान सरकार पाकिस्तान नजिकिँदै गएको छ। जबकि इन्डियाको ठूलो लगानी बंगलादेशमा छ।“
यद्यपि इन्डिया र बंगलादेशबीच पहिले सम्बन्ध धेरै राम्रो रहेका थिए, तर गत वर्ष बंगलादेशमा भएको आन्दोलनका कारण त्यतिबेलाको प्रधानमन्त्री शेख हसीनालाई आफ्नो पद छाड्नुपरेको थियो।
त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारसँग धेरै विषयहरूमा इन्डियासँग मतभेद रहँदै आएको छ।
क़मर आगा भन्छन् कि चीनले पनि धेरै देशहरूमा लगानी गरेको छ, तर यस्तो देखिएको छ कि चीनको लगानीबाट उसैलाई बढी फाइदा हुन्छ, त्यसैले माल्दिभ्स र श्रीलंकाजस्ता देशहरू फेरि इन्डियातर्फ फर्किरहेका छन्।
इन्डिया र पाकिस्तानबीच जारी तनावका बीच चीनको धारणा माथि धेरैको नजर छ। चीनको पाकिस्तानसँग गहिरो सम्बन्ध रहँदै आएको छ र इन्डियासँग पनि उसका व्यापारिक हितहरू छन्।
जबकि चीन आफैँ हाल अमेरिका सङ्ग ट्यारिफ युद्धमा फसेको छ, जसले गर्दा चीनको आफ्नै अर्थतन्त्रमा पनि संकट देखिँदै छ।
चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा इन्डियाका हवाई हमलालाई ’दुःखद’ भनेको छ। बुधबार भएको यस हमलालाई इन्डियाले ’अप्रेशन सिन्दूर’ नाम दिएको छ।
इन्डिया र पाकिस्तानबीच बढ्दो तनावका विषयमा एक प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने कि उनीहरू वर्तमान स्थितिको बारेमा ’चिन्तित’ छन्।
चिनियाँ विदेश मन्त्रालयतर्फबाट भनिएको छ, “इन्डिया र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र सधैं रहनेछन्। उनीहरू दुवै चीनका पनि छिमेकी हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्दछ।“
मन्त्रालयका प्रवक्ताले दुवै देशलाई “शान्त रहन, संयम अपनाउन र त्यस्ता कार्यहरूबाट बच्न अपील गरेका छन्, जसले स्थितिलाई अझ जटिल बनाउने सक्छ।“
विशेषज्ञहरू भन्छन् कि चीन कहिल्यै चाहँदैन कि पाकिस्तान अस्थिर होस्, जसले गर्दा उसका करोडौं डलरको लगानी बेकार जाओस्।
पाकिस्तानमा चीनले २००५ देखि २०२४ सम्म करिब ६८ अर्ब अमेरिकी डलरको लगानी गरिसकेको छ।
यसका साथै चीन, पाकिस्तानमा चाइना–पाकिस्तान इकोनोमिक करिडोर र बेल्ट एन्ड रोड अन्तर्गत ठूलो लगानी गरिरहेको छ।
यद्यपि विदेश मामिलाका जानकार क़मर आगा भन्छन्, “चीन चाहन्छ कि यो संघर्ष चलिरहोस्, त्यही उसकै लागि राम्रो हो। चीनका केही हालैका बयानहरू पनि यही देखाउँछन्। संघर्षको अवस्थामा चीनले पाकिस्तानलाई आफ्ना हतियार बेच्ने अवसर पाउनेछ।“
२२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा भएको हमलापछि अफगानिस्तानको विदेश मन्त्रालयले एक बयानमा यस हमलाको निन्दा गर्दै भनेको छ कि यस्ता घटनाहरू क्षेत्रको सुरक्षा र स्थायित्वलाई नोक्सान पुर्याउँछन्।
इन्डियाको ’अप्रेशन सिन्दूर’ र पाकिस्तानसँग बढ्दो तनावबारे पनि अफगानिस्तानको विदेश मन्त्रालयले बयान जारी गर्दै तनावमाथि चिन्ता व्यक्त गरेको छ र इन्डिया–पाकिस्तानलाई यो तनाव वार्ताद्वारा समाधान गर्न अपील गरेको छ।
यद्यपि अफगानिस्तान र पाकिस्तानबीच स्वयं सीमा विवाद चलिरहेको छ।
क़मर आगा भन्छन्, “अफगानिस्तानको कुनै पनि सरकारले पाकिस्तानसँग आफ्नो सीमा अर्थात् डुरन्ड रेखालाई कहिल्यै मान्दै आएको छैन, त्यसैले पाकिस्तान र अफगानिस्तानबीच धेरै पुरानो सीमा विवाद छ। यदि भारत–पाकिस्तानको संघर्ष बढ्छ भने अफगानिस्तान इन्डियाको पक्षमा देखिनेछ।“
“यो विवाद इन्डियामा अंग्रेजी शासनको समयदेखि चलिरहेको हो, जब दोस्रो अंग्रेज–अफगान युद्ध भएको थियो र डुरन्ड रेखालाई दुई देशहरूको सीमा निर्धारण गरिएको थियो।“
सन् १८९३ मा अफगान राजा र ब्रिटिश शासित इन्डियाका विदेश मन्त्री सर मोर्टिमर डुरन्डबीच भएको सम्झौता पछि अफगानिस्तानको केही भूभाग ब्रिटिश इन्डियालाई दिइएको थियो।
सन् १९४७ मा पाकिस्तानको जन्म पछि धेरै अफगान शासकहरूले डुरन्ड सम्झौताको वैधतामाथि नै प्रश्न उठाएका छन् र दुबै देशबीच दुश्मनीको बीउ परेका छन्।
रक्षा विशेषज्ञ संजीव श्रीवास्तव भन्छन्, “दक्षिण एसियाका अधिकांश देशहरूसँग इन्डियाका राम्रो सम्बन्ध रहेका छन् र यदि यो संघर्ष बढ्छ भने ती देशहरूको चिन्ता बढ्नेछ।“
इन्डिया–पाकिस्तानबीच जारी तनावका बीच ईरानका विदेश मन्त्री अब्बास अराक्चीले यसै हप्ता पाकिस्तान र इन्डियाको यात्रा गरेका छन्। ईरानले पहलगाम हमलाको निन्दा गरेको छ र उसले दुवै देशबीचको तनाव घटाउन मध्यस्थता गर्न प्रस्ताव गरेको छ।
ईरानका राष्ट्रपति मसूद पेज़ेश्कियानले इन्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर पहलगाम हमलाको निन्दा गरेका छन् र इन्डियासँगको तनावबारे पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग पनि कुराकानी गरेका छन्।
ईरान र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र दुबै देशबीच लामो सीमा छ।
क़मर आगा भन्छन्, “ईरान इन्डिया–पाकिस्तानको संघर्ष चाँडै अन्त्य भएको हेर्न चाहन्छ, किनभने यदि यस क्षेत्रमा संघर्ष बढ्छ भने पाकिस्तानसँग सीमा साझेदारीका कारण ईरानमा पनि असर पर्न सक्छ।“
त्यसैगरी इन्डिया र ईरानबीच ऐतिहासिक, रणनीतिक र आर्थिक कारणहरूबाट व्यापारिक सम्बन्ध मजबुत रहेका छन्।
सन् २०२२–२३ मा इन्डिया र ईरानबीच करिब २.५ अर्ब डलरको कारोबार भएको थियो। इन्डियाले ईरानलाई १.९ अर्ब डलरको निर्यात गरेको थियो भने ईरानले इन्डियालाई ६० करोड डलरको निर्यात गरेको थियो।
इन्डिया, ईरानका शीर्ष पाँच व्यापारिक साझेदारहरूमा पर्छ। इन्डियाले हरेक वर्ष ईरानलाई करिब १ अर्ब डलर बराबरको चामल पठाउँछ।
ईरानमाथि अमेरिकी प्रतिबन्धहरूको कारण इन्डियाका लागि ईरानको तेल निर्यात प्रभावित भएको छ। सन् २०१९ भन्दा अघि इन्डिया आफ्नो १० प्रतिशत तेल आवश्यकताहरू ईरानको तेलबाट पूर्ति गथ्र्यो।
यसका साथै इन्डियाले ईरानको चाबहार बन्दरगाहमा करिब ५० करोड डलरको लगानी गरेको छ। इन्डिया चाबहार बन्दरगाहमार्फत अफगानिस्तान र मध्य एशियाका बजारहरूमा पहुँच बनाउने प्रयासमा छ।
रक्षा विशेषज्ञ संजीव श्रीवास्तव भन्छन्, “ईरान दुबै देशसँग सम्बन्धमा छ र ऊ जुनसुकै हालतमा पनि चाहन्छ कि यो संघर्ष चाँडै अन्त्य होस् र शान्ति स्थापना गर्ने उसको प्रयास जारी रहनेछ।“
इन्डिया पाकिस्तानको द्वन्द्वमा दक्षिण एसियाका बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, नेपाल तटस्थ बसेका छन् । पुर्वी मुलुक म्यान्मार पनि चुप रहेको छ भने अफगानिस्तान इन्डियाको पक्षमा देखिने संकेतहरु देखिएका छन् ।
इन्डिया, पाकिस्तान र अफगानिस्तान अलग–अलग धर्मका तर सामाजिक संरचना, धार्मिक कट्टरता एकैखाले भएका मुलुकहरु हुन् ।
(बीबीसी हिन्दीको सहयोगमा)