काठमाडौँ । पछिल्ला दिनहरुमा इन्डिया र पाकिस्तानबिचको सम्बन्ध युद्धमै प्रवेश गरिसकेको छ। अप्रिल २२ मा कश्मीर पहलगाममा २६ जना धार्मिक तथा पदयात्रीहरूको ज्यान जाने गरी भएको अज्ञात समुहको हमलाका कारण दुबै देशबीच सम्बन्ध खराब भएको छ ।
यो घटनालाई अन्तराष्ट्रिय निकाय सम्मिलित छानविन गर्न पाकिस्तान तयार रहेको छ । तर, इन्डिया मानिरहेको छैन । इन्डियाले हालै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा मिसाइल र हवाई आक्रमण गर्यो । विश्वसनीय गुप्तचर जानकारीको आधारमा अतिवादी लुकेका ठाउँहरूलाई लक्षित गरिएको इन्डियाको दाबी छ ।
मंगलबार मध्यरातको केही समयपछि, इन्डियन समय अनुसार बिहान १ः०५ बजेदेखि १ः३० बजेको बिचमा इन्डियाले सो आक्रमण गरेको थियो । इन्डियाले छ वटा स्थानलाई निशाना बनाएको र पाँच इन्डियन लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी पाकिस्तानले गरेको छ । तर, इन्डियाले यसको पुष्टि गरेको छैन ।
पाकिस्तानले नियन्त्रण रेखामा इन्डिया हवाई आक्रमण र गोलाबारीबाट ३१ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएको छ । इन्डियन सेनाले चाहिँ एलओसीमा पाकिस्तानले गरेको गोलीबारीमा आफ्ना १५ नागरिक मारिएको बताएको छ ।
यस आक्रमणपछि आणविक हतियारधारी दुई प्रतिद्वन्द्वीहरू बिचको तनावलाई अझ बढाएको छ । इन्डियाले पहलगाम आक्रमणमा पाकिस्तानी आतंकवादी र बाह्य कारकहरूको संलग्नताको स्पष्ट प्रमाण रहेको बताएको छ । यसलाई पाकिस्तानले स्पष्ट रूपमा अस्वीकार गरेको छ । इन्डियाले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण नदिएको पाकिस्तानी भनाइ छ ।
के यो आक्रमण द्वन्द्व बढ्दै गएको संकेत हो ?
सन् २०१६ मा, उरीमा १९ इन्डियन सैनिक मारिएपछि इन्डियाले नियन्त्रण रेखा पार गरेर सर्जिकल स्ट्राइक गरेको थियो । सन् २०१९ को पुलवामा विस्फोटमा ४० जना इन्डियन अर्धसैनिक बलका जवानहरू मारिएपछि पनि इन्डियाले सन् १९७१ पछि पहिलो पटक पाकिस्तानभित्र बालाकोट नजिकै हवाई आक्रमण गर्यो ।
यसपटक पहलगाम आक्रमणको बदला लिन गरिएको कारबाहीको दायरा धेरै फराकिलो भएको विज्ञहरू भन्छन् । यसमा पाकिस्तानका तीन प्रमुख अतिवादी समूहहरूको लुक्ने ठाउँहरूलाई एकैसाथ निशाना बनाइएको छ ।
इन्डियाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका नौ आतंकवादी प्रतिष्ठानहरूमा आक्रमण गरेको र लश्कर–ए–तैयबा (एलईटी), जैश–ए–मोहम्मद र हिजबुल मुजाहिदीनका प्रमुख ठेगानाहरूमा गम्भीर क्षति पुर्याएको बताएको छ । इन्डियाका विदेश मन्त्रालयका प्रवक्ता विक्रम मिश्रीका अनुसार, सबैभन्दा नजिकको निशाना सियालकोटमा रहेका दुई शिविरहरू थिए, जुन सीमाबाट केवल ६–१८ किलोमिटर टाढा थियो । इन्डियाले हवाई आक्रमणको सबैभन्दा टाढाको लक्ष्य पाकिस्तान भित्र १०० किलोमिटरभित्र बहावलपुरमा रहेको जैश–ए–मोहम्मदको मुख्यालय रहेको बताएको छ ।
प्रवक्ता मिश्रीका अनुसार, नियन्त्रण रेखाबाट ३० किलोमिटर टाढा र पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा रहेको लश्करको शिविर इन्डिया प्रशासित कश्मीरमा हालै भएका आक्रमणहरूसँग जोडिएको छ । पाकिस्तानले आफ्नो भूभागका छ वटा स्थानलाई लक्षित गरिएको बताएको छ तर त्यहाँ आतंकवादी शिविरहरूको अस्तित्वलाई अस्वीकार गरेको छ ।
इतिहासकार श्रीनाथ राघवनले भने, ‘यस पटक अचम्मको कुरा के छ भने इन्डियाले विगतमा गरिएका आक्रमणहरूको ढाँचाको दायरा विस्तार गरेको छ । यसअघि बालाकोट जस्ता आक्रमणहरू नियन्त्रण रेखा पारि पाकिस्तान नियन्त्रित कश्मीरमा केन्द्रित थिए,’ उनी भन्छन्, ‘यस पटक इन्डियाले अन्तर्राष्ट्रिय सीमा पार गरेर पाकिस्तानको पञ्जाबमा छिरेको छ र बहावलपुर अनि मुरिदकेमा रहेका लश्कर–ए–तैयबाका आतंकवादी पूर्वाधार, मुख्यालय र ज्ञात लुक्ने ठाउँहरूलाई निशाना बनाएको छ । उनीहरूले जैश–ए–मोहम्मद र हिजबुल मुजाहिदीन लुक्ने ठाउँहरूमा पनि आक्रमण गरेका छन् । यो फराकिलो, भौगोलिक रूपमा व्यापक प्रतिक्रियाको संकेत हो, जसले देखाउँछ कि धेरै समूहहरू अब भारतको रडारमा छन् ।’
इन्डिया–पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा गुजरातदेखि जम्मूसम्म फैलिएको आधिकारिक रूपमा मान्यता प्राप्त दुई देशहरूलाई विभाजन गर्ने सीमा हो । पाकिस्तानका लागि पूर्व इन्डियन उच्चायुक्त अजय बिसारियाले बीबीसीलाई भने, ‘इन्डियाले गरेको काम बालाकोट प्लस प्रतिक्रिया थियो, जसको उद्देश्य ज्ञात आतंकवादी केन्द्रहरूलाई लक्षित गरेर आतंकवादको प्रतिरोध गर्नु थियो । यी आक्रमणहरू विगतको भन्दा बढी सटीक, लक्षित र प्रत्यक्ष थिए । त्यसैले पाकिस्तानबाट अस्वीकार गर्ने सम्भावना धेरै कम थियो ।’
प्राध्यापक राघवनका अनुसार इन्डिया सरकारलाई सन् २०१९ मा स्थापित प्रतिरोधात्मक क्षमता कमजोर भएको लागेको थियो । त्यसैले इन्डियालाई पुनस्र्थापित गर्न आवश्यक रहेको ठानेको थियो । उनका अनुसार, ‘यसले इजरायलको सिद्धान्तलाई प्रतिविम्बित गर्दछ जसमा प्रतिरोधको लागि आवधिक र बारम्बार आक्रमणहरू आवश्यक पर्दछ । तर हामी पाकिस्तानलाई बदला लिन प्रोत्साहित गर्ने जोखिममा छौँ र यो चाँडै नियन्त्रणबाट बाहिर जान सक्छ ।’
के यो अझ व्यापक द्वन्द्वमा परिणत हुन सक्छ ?
पाकिस्तानको तर्फबाट जवाफी कारबाही अपरिहार्य भएको छ । त्यतिबेला कूटनीतिको आवश्यकता पर्ने धेरैजसो विज्ञहरू ठान्दछन् । बिसारिया भन्छन्, ‘पाकिस्तानबाट प्रतिक्रिया निश्चित छ । चुनौती भनेको अर्का तहको द्वन्द्वलाई सम्हाल्नु हुनेछ । यही संकटमा कूटनीतिले महत्त्व राख्नेछ । पाकिस्तानलाई संयम अपनाउन सल्लाह दिइँदैछ होला । तर पाकिस्तानको प्रतिक्रियापछि, मुख्य कुरा दुईबिचको द्वन्द्व अझ नचल्ने कुरा सुनिश्चित गर्नु कूटनीतिको प्रमुख दायित्व हुनेछ ।’
तनावपूर्ण अवस्थाका कारण इन्डियाले सर्जिकल स्ट्राइकमा मुरिदके र बहावलपुर जस्ता ठाउँहरूलाई निशाना बनाउने सम्भावना पहिले नै अनुमान गरिएको लाहोरस्थित राजनीतिक तथा सैन्य विश्लेषक एजाज हुसेन जस्ता पाकिस्तानी विज्ञहरू भन्छन् । यसको प्रतिआक्रमणको सम्भावना भएको पनि डा. हुसेन विश्वास गर्छन् ।
‘पाकिस्तानी सेनाको मिडिया बयानबाजी र बदला लिने घोषणा गरिएको संकल्पलाई ध्यानमा राख्दै, आगामी दिनहरूमा सीमापार सर्जिकल स्ट्राइकको रूपमा प्रतिशोधात्मक कारबाही हुने सम्भावना देखिन्छ,’ उनले बीबीसीलाई भने । तर दुवै पक्षबाट हुने सर्जिकल स्ट्राइकहरू परम्परागत युद्धमा परिणत हुने हो कि भनेर डा. हुसेन चिन्तित छन् ।
इन्डियन आक्रमणको मात्रा, प्रमुख स्थलहरूमा प्रत्यक्ष क्षति र हताहतको संख्यालाई ध्यानमा राख्दै, पाकिस्तानबाट बदला लिने बलियो सम्भावना भएको अमेरिकाको अल्बानी विश्वविद्यालयका क्रिस्टोफर क्लेरी पनि भन्छन् । ‘त्यसो गर्न असफल भएमा इन्डियालाई इच्छा अनुसार पाकिस्तानमाथि आक्रमण गर्ने स्वतन्त्रता मिल्नेछ, जुन पाकिस्तानी सेनाको प्रतिशोधात्मक प्रतिबद्धता विपरीत हुनेछ,’ क्लेरीले बीबीसीलाई भने, ‘इन्डियाले पहिचान गरेको आतंकवादी र अतिवादी समूह र प्रतिष्ठानहरूको लक्ष्यलाई ध्यानमा राख्दै मलाई लाग्छ पाकिस्तानले पनि आफूलाई इन्डियन सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्नमा सीमित राख्ने सम्भावना छ ।’
दुई देशबिच बढ्दो तनावको बाबजुद, केही विज्ञहरू अझै पनि तनाव कम हुने आशा राखेका छन् । क्लेरी भन्छन्, ‘हामी यस संकटबाट बाहिर निस्कने पर्याप्त सम्भावना छ र केही समयको लागि नियन्त्रण रेखामा केवल एक प्रतिशोधात्मक आक्रमण र भारी गोलाबारी हुनेछ ।’
यद्यपि, द्वन्द्व थप बढ्ने जोखिम अझै पनि कायम छ । यस कारणले गर्दा, यो २००२ को इन्डियन–पाकिस्तान संकट पछिको सबैभन्दा खतरनाक अवस्था हो । यो २०१६ र २०१९ को गतिरोध भन्दा खतरनाक छ ।
पाकिस्तानले बदला लिने कुरा निश्चित हो ?
इन्डियन आक्रमण अघि युद्ध उन्माद नभए पनि परिस्थिति चाँडै परिवर्तन हुन सक्ने पाकिस्तानी विज्ञहरू विश्वास गर्छन् । इस्लामाबादस्थित विश्लेषक तथा जेन्स डिफेन्स विक्लीका पूर्वसंवाददाता उमर फारुक भन्छन्, ‘हामी राजनीतिक रूपमा धेरै विभाजित समाजमा बाँचिरहेका छौँ । देशका सबैभन्दा लोकप्रिय नेताहरू जेलमा छन् । इमरान खानलाई जेल पठाउँदा व्यापक सेनाविरोधी विरोध प्रदर्शनहरू भएका थिए ।’
उनी भन्छन्, ‘आज, पाकिस्तानी जनता सन् २०१६ वा २०१९ को तुलनामा सेनालाई समर्थन गर्न कम इच्छुक छन् । युद्ध उन्मादको कुनै सामान्य लहर स्पष्ट रूपमा छैन । तर यदि इन्डिया विरोधी भावना उच्च रहेको मध्य पञ्जाबमा जनमत परिवर्तन भयो भने, हामी सेनामाथि कारबाही गर्न बढी नागरिक दबाब देख्न सक्छौँ र यस द्वन्द्वका कारण सेनाको लोकप्रियता फेरि बढ्नेछ ।’
डा. हुसेन पनि यही ठान्दछन् । उनी भन्छन्, ‘मलाई विश्वास छ भारतसँगको हालको गतिरोधले पाकिस्तानी सेनालाई सार्वजनिक समर्थन पुनः प्राप्त गर्ने अवसर प्रदान गर्दछ, विशेष गरी सहरी मध्यम वर्गमा, जसले हालै कथित राजनीतिक हस्तक्षेपको लागि यसको आलोचना गरेका छन् । सेनाका कारबाहीलाई पहिले नै मुख्यधारा र सामाजिक सञ्जालमा अतिरञ्जित गरिएको छ । केही मिडिया आउटलेटहरूले छ वा सात भारतीय जेटहरू खसालेको दाबी गरेका छन् ।’
यद्यपि यी दावीहरूलाई स्वतन्त्र प्रमाणीकरण आवश्यक पर्ने तर तिनीहरूले बाह्य खतराको समयमा परम्परागत रूपमा राष्ट्रिय रक्षा कथाको वरिपरि भेला हुने जनताका केही वर्गहरूमाझ सेनाको छविलाई बलियो बनाउन काम गर्ने हुसैन भन्छन् ।
इन्डिया र पाकिस्तानले द्वन्द्वको बाटो त्याग्लान् ?
इन्डिया फेरि एक पटक द्वन्द्व र संयम बिचको रेखामा हिँडिरहेका छन् । पहलगाम आक्रमणको केही समयपछि, इन्डियाले आफ्नो मुख्य सीमा नाकाहरू बन्द ग¥यो । सिन्धु जल बाँडफाँड सन्धि निलम्बन गरेर उसले पाकिस्तानी कूटनीतिज्ञहरूलाई देशबाट निष्कासन ग¥यो भने इन्डियामा बसिरहेका पाकिस्तानी नागरिकहरूको भिसा रद्द गरेर बदला लिएको थियो ।
इन्डिया र पाकिस्तान दुवैले एकअर्काको विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दा दुवै पक्षका सेनाले साना हतियारको गोलीबारी गरे । प्रतिक्रियामा, पाकिस्तानले सन् १९७२ को शिमला शान्ति सम्झौतालाई निलम्बन गरेको छ र अन्य बदला लिने उपायहरू अपनाएको छ ।
यी कदमहरू सन् २०१९ को यी सबै पुलवामा आक्रमण पछि इन्डियाको कार्यहरूसँग मिल्दोजुल्दो छन् । त्यतिबेला इन्डियाले पाकिस्तानलाई दिँदै आएको मोस्ट फेवर्ड नेसन (एफएफएन)को दर्जा खारेज गरेर भारी शुल्क लगाउँदै प्रमुख व्यापार र यातायात सञ्जालहरू निलम्बन गरेको थियो ।
इन्डियाले बालाकोटमा हवाई आक्रमण गर्दा पाकिस्तानी सेनाले गरेको जवाफी हवाई आक्रमणमा इन्डियन पाइलट अभिनन्दन वर्धमानलाई पक्राउ गरेपछि संकट झनै बढ्यो । यसले तनावलाई अझ बढायो । यद्यपि, अन्ततः कूटनीतिक माध्यमबाट तनाव कम भयो र पाकिस्तानले सद्भावनाको संकेतको रूपमा पाइलटलाई रिहा गर्यो ।
‘इन्डियन पुरानो शैलीको कूटनीतिलाई अर्काे मौका दिन इच्छुक थियो,’ बिसारियाले भने, ‘किनभने इन्डियाले रणनीतिक र सैन्य उद्देश्य हासिल गरिसकेको थियो । उता पाकिस्तानले पनि आफ्नो घरेलु दर्शकहरूको अगाडि विजय दाबी गरेको थियो ।’
(बीबीसी हिन्दी)