वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदीय जिम्मेवारी सम्हालेपछि अनेक प्रकारका निर्णयहरु गर्दै आएका छन् ।
कहिले मेक्सिको क्षेत्रलाई गल्फ अफ अमेरिका त कहिले क्यानाडा नै अमेरिकाको एउटा राज्य हो जस्ता घोषणा गर्छन् ।
यसै सन्दर्भमा ट्रम्पले गाजा क्षेत्र नै किनेर अमेरिकाको स्वामित्वमा ल्याउने बताइरहेका छन् ।
गाजामा अमेरिकी स्वामित्वबारे आफ्नो भनाई पुनः दोहोर्याएका छन् । युद्धले चौपट पारेको गाजालाई किनेर अमेरिकाको बनाउनेमा कुरामा उनी अडिग छन् ।
राष्ट्रपतिको सरकारी विमान एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा गाजालाई ‘ठुलो रियल इस्टेट साइट’ ठानिनुपर्ने ट्रम्पले बताए । मध्य पूर्वका अन्य देशहरूले यसको पुनः विकासको काम दिन सकिने उनको भनाइ थियो ।
‘जहाँसम्म हामीले यसलाई बनाउने भन्ने कुरा छ, यसको केही खण्ड बनाउने काम मध्यपूर्वका अन्य देशलाई पनि दिन सकिन्छ; हाम्रो सहयोगमार्फत अरु मान्छेले पनि गर्न सक्छन् ।’
सुपर बाउलमा सहभागी हुन न्यू ओर्लियन्स जाने क्रममा ट्रम्पले भने । तर आफूहरू गाजालाई आफ्नै स्वामित्वमा लिन प्रतिबद्ध रहेको अनि यसलाई लिने अनि हमास फर्केर नआओस् भन्ने सुनिश्चित गर्ने पनि उनले बताए ।
फर्केर आउन गाजामा केही नभएको यो र ध्वस्त भइसकेको ठाउँमा मात्रै भएको पनि उनले बताए । विस्थापित प्यालेष्टिनीहरूले गाजामा फर्केर आउन नरुचाउने पनि उनले भने ।
जाने ठाउँ नभएकोले गाजाबासीले गाजा फर्किने कुरा गरेको अनि उनीहरूलाई बस्नका लागि सुरक्षित ठाउँ दिइयो भने उनीहरू गाजामा फर्केर नआउने ट्रम्पको जिकिर थियो ।
ट्रम्पको यो भनाईले अहिले विश्वभर खैलाबैला मच्चिरहेको छ ।