काठमाडौँ । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा उनले सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउन मन्त्रालयले काम गरिरहेको बताए।
गृहमन्त्री लेखकले ७७ वटै जिल्लामा परिचालित सशस्त्र प्रहरीलाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, युग सुहाउँदो बन्दोबस्ती सामग्रीले सुसज्जित गर्दै लैजान गृहमन्त्रालय प्रयासरत रहेको बताए ।
नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट तयार रहेको उनले उल्लेख गरे। उनले राज्यले सुम्पिएका जिम्मेवारीलाई विषम परिस्थितिमा समेत सशस्त्र प्रहरीले व्यावसायिक दक्षता प्रदर्शन गर्दै आएको बताए ।
मौजुदा स्रोतसाधनको प्रयोग गरी नतिजा हासिल गर्नेतर्फ विगत र वर्तमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकले निर्देशन दिए।
सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन- नियमको परिधिभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भई कार्य गरेमा लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जाने उनको भनाइ थियो ।
प्रशिक्षणलाई समयानुकूल आधुनिक र वैज्ञानिक बनाई राज्यलाई दक्ष अधिकृत निर्माणमा सङ्गठनले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री लेखकले सशस्त्र प्रहरी एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढङ्गले अगाडि बढ्ने व्यवस्था गरिने बताए।
सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्टीकृत गर्दै लैजाने बताउँदै उनले त्यो विधेयक आगामी सङ्घीय संसद् अधिवेशनमा पेस गरिने बताए ।
गृहमन्त्री लेखकले नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा रहेकाले आगामी सङ्घीय संसद्को अधिवेशनमा पेस गरेर कानुन निर्माण गरिने जानकारी दिए।